नेपाली कांग्रेस बाँकेको नेतृत्व चयनका लागि बिहीबार भएको मतदान परिणामले संस्थापन पक्षको फुटको असर प्रष्ट पारेको छ । यदि संस्थापन पक्ष मिलेको भए पहिलो चरणमा संस्थापन पक्षका उम्मेदवारले सहज जित हात पार्ने अवस्था मतगणनाले प्रष्ट्याएको छ ।
पहिलो चरणमा मतदानमा ९९ दशमलब ६६ प्रतिशतअर्थात् एक हजार चार सय ४५ मत खसेकोमा त्यसको ५८.९६ प्रतिशत भोट संस्थापन पक्षका दुई उम्मेदवारले पाएका छन् ।
अर्काेतिर संस्थापन पक्षबाट आधिकारिक उम्मेदवार भनेर केन्द्रको नेतृत्वले घोषणा गरेका नेता एवम् लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल, बादशाह कुर्मीभन्दा कमजोर देखिए । अब दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका नारायणप्रसाद गौडेल र संस्थापन पक्षका बादशाह कुर्मीबीच चुनावी प्रतिस्पर्धा हुने छ ।
कुर्मीले केही महिनाअघि नै संस्थापनको आफू आधिकारिक र एकमात्र उम्मेदवार भएको घोषणा गरेका थिए । तर जिल्ला निर्वाचनको केही दिन अघि मात्रै केन्द्रको नेतृत्वले संस्थापनपक्षको आधिकारिक उम्मेदवार हमाललाई घोषणा गरेको थियो । उक्त घोषणालाई चुनौति दिँदै कुर्मीले आफू नै संस्थापनको आधिकारिक उम्मेदवार भएको बताएका थिए ।
मत परिणाम सार्वजनिक भएपछि हमाल पक्षका नेता एवम् केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले संस्थापन पक्षको आधिकारिक उम्मेदवार हमाल नै भएकोमा आफू अहिले पनि अडिग रहेको बताए ।
तर निर्वाचनको परिणाम स्वीकार्नुको विकल्प छ र ? भन्ने प्रश्नमा उनले भने, ‘हो, अन्तिम समयसम्म प्रयास गर्दा पनि हामीले एउटै उम्मेदवार बनाउन सकेनौँ । अब मतदाताले दिएको मतलाई आधार मानेर हामी एउटा निष्कर्षमा पुग्ने प्रयास गर्दै छौँ । दोस्रो चरणको चुनाव अघिसम्म एक ठाउँमा उभिन्छौँ,’ उनले भने ।
क्षेत्र नम्बर ३ का सभापति एवम् कुर्मी पक्षका नेता मोहम्मद नक्की खाँले भने अब कुर्मीलाई संस्थापन पक्षको आधिकारिक उम्मेदवार नमानिएमा अन्याय हुने बताउँछन् ।
‘अब दोस्रो चरणमा दुवै पक्ष एक भएर जानुपर्छ,’ उनले भने, ‘मतदाताले दिएको सन्देशलाई मानेर जानुको विकल्प नै छैन ।’ दोस्रो चरणमा संस्थापन पक्ष एक भएर जानेमा आशंका गर्न सकिने ठाउँ रहेको नेता कार्यकर्ताहरु बताउँछन् । निर्वाचनको मुखमा आएर केन्द्रीय नेतृत्वले गरेको निर्णय मतदाता विभाजित हुन सक्ने उनीहरुको आशंका छ ।
संस्थापन पक्षमा बिहीबार खसेको मत जोड्दा बहुमतका लागि आवश्यक सात सय २३ भन्दा एक सय २९ ले बढी हुन आउँछ । हमाल पक्षको एक सय ८५ मतमात्रै कुर्मीको पक्षमा आए पनि उनको जित सुनिश्चित हुनेछ ।
संस्थापन पक्ष मिलेर आएमा संस्थापनइतरका उम्मेदवार गौडेललाई भने जित निकै कठिन हुनेछ । उनले संस्थापन पक्षको एक सय ५४ मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । जुननिकै कठिन हुने देखिन्छ । गौडेल पक्षका नेताहरुले भने दोस्रो चरणमा परिणाम आफूहरुको पक्षमा आउने दाबी गरेका छन् ।
कुर्मी–हमाल लडाइँले हार
संस्थापन पक्षका कुर्मीले पाँच सय ३८ मत पाउँदा हमालले तीन सय १४ मत पाए । उनी दुवैको मत जोड्दा आठ सय ५२ मत पुग्छ । यो भनेको कूल खसेको मत संख्याको ५८.९६ प्रतिशत मत हो । यसले संस्थापन पक्षको जितलाई सुनिश्चित गथ्र्याे । तर, आफ्नै कारण संस्थापनले पहिलो चरणमा चुनावी सफलता पाउनबाट चुक्यो । जसले गर्दा चुनाव दोस्रो चरणमा पुग्यो ।
कुर्मी र हमालको लुछाचुडीको फाइदा संस्थापनइतर समूहका उम्मेदवार गौडेलले उठाए । उनले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन । यदी कुर्मी र हमालबीच वैमनस्य रहे र अन्तरघात भए चुनावी नतिजा गौडेल समूहको पक्षमा नजाला भन्न सकिँदैन । ‘दोस्रो चरणमा मतदानमा नेताहरुले विश्वासघात गर्नुहुन्छ या वा हुन्न,’ मतदान स्थलमा आएका एक कांग्रेस नेताले भने, ‘संस्थापन पक्षको जित हार त्यहीनेरबाट उब्जिन्छ ।’
गौडेल र कुर्मीबीच प्रतिस्पर्धा
नेपाली कांग्रेस जिल्ला सभापतिका लागि बिहीबार भएको मतदानबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव पुनः दोस्रो चरणमा प्रवेश गरेको छ ।
दोस्रो चरणमा संस्थापन पक्षका बादसाह कुर्मी र संस्थापनइतर समूहका नारायण गौडेलबीच प्रतिस्पर्धा हुने छ भने संस्थापन पक्षका सुरेन्द्र हमाल प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
गौडेलले पाँच सय ६९, कुर्मीले पाँच सय ३८ र हमालले तीन ससय १४ मत प्राप्त गरे । नेपाली कांग्रेसको विधानअनुसार पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ ।










प्रतिक्रिया दिनुहोस्