बाँकेको पूर्वी क्षेत्रमा केही महिनायता आंतक मच्चाइ रहेको पाटेबाघ नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार उक्त बाधलाई नियन्त्रणमा लिइएको हो ।
६ महिनायता मात्र राप्तीसोनारी र नरैनापुरमा बाघले आधा दर्जन मानिसको ज्यान लिएको छ । मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ बुधबार नियन्त्रणमा आएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
उनका अनुसार बाघलाई पाडोको शिकार गरी मासु खान लागेको बेला बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । ‘बाघ नियन्त्रणमा खटिएको प्राविधिक टोलीले आहाराका लागि पाडोलाई राखेको थियो,’ प्रमुख संरक्षण अधिकृत शाहले भने, ‘त्यही पाडो खायो । फेरि बचेको मासु खान आएको बेला प्राविधिकले भाले पाटेबाघलाई नियन्त्रणमा लिए ।’
नरभक्षी बाघ नियन्त्रणमा लिन १० दिनयता पाडोलाई आहाराको रुपमा जंगलमा नै बाँधेर राखिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्तालगायतको टोलीले बाघलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको भाले बाघको उमेर अन्दाजी ७/८ वर्षको रहेको निकुञ्जले जनाएको छ । केही महिनायता मान्छेमाथि आक्रमण गर्ने बाघ नै नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए । ‘धेरै कुराले नै मान्छेमाथि आक्रमण गर्ने बाघ यही नै रहेको देखिन्छ,’ उनले भने, ‘मान्छे खाएको क्षेत्रबाट नै बाघलाई नियन्त्रणमा लिएका हौं ।
त्यसैले पनि मान्छे खाने बाघ यही हो भन्न सकिन्छ ।’ नियन्त्रणमा आएको बाघले भदौ अन्तिममा राप्तीसोनारीको गाभरमा एक भारतीय नागरिकलाई खाएको समेत खुलेको छ । ‘गाभरमा मान्छे खाने बाघसमेत यही नै रहेको फोटोबाट खुलेको छ,’ प्रमुख संरक्षण अधिकृत शाहले भने, ‘भाले बाघ भएकोले पनि नदीपारिको क्षेत्रमा समेत पुगेर मान्छेमाथि आक्रमण गरेको हुनसक्छ ।’
पाँच महिनायता मात्र बाघले राप्तीसोनारीको वडा नम्बर ४ र ६ मा मात्र पाँच स्थानीयको ज्यान लिइसकेको छ । बाघको आक्रमणबाट चालू आर्थिक वर्षको अहिलेसम्म राप्तीसोनारी र नरैनापुरमा गरेर सातजनाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।
नियन्त्रणमा आएको नरभक्षी पाटेबाघलाई चितवन राष्ट्रिय निकुञ्जमा लगिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले मिसन टुडेलाई जानकारी दिए । ‘चितवन निकुञ्जको खोरमा राख्न यहाँबाट बाघलाई पठाइसकिएको छ,’ उनले भने, ‘पुरानो निकुञ्ज भएकोले राम्रो खोर भएकोले चितवन पठाएका छौं । उतैको खोरमा नियन्त्रणमा लिइएको बाघलाई राखिन्छ ।’
पहलले सार्थकता पायो
कृष्णा केसी (नमुना)
प्रदेश सांसद, बाँके क्षेत्र नम्बर १ (क)
ढिलै भए पनि निरन्तरको पहलले सार्थकता पाएको छ । बाघले मान्छेको ज्यान लिएपछि तत्काल नियन्त्रणमा लिन दबाब दिएकी थिए । पहिले दबाबकै कारण चितवनबाट नै बाघ नियन्त्रणका लागि प्राविधिक टोली आएको थियो । एक सातासम्म खोज्दासमेत बाघ फेला पर्न सकेको थिएन । केही एक साता पहिला फत्तेपुरमा जंगल गएकी महिलाको बाघले आक्रमण गरी ज्यान लियो ।
एक पुरुषलाई गम्भीर घाइते बनायो । सोही क्षेत्रबाटै आफू निर्वाचित भएकोले सुरुदेखि नै लागिपरेको थिए । पछिल्लो समय त बाघको आंतक अति भएपछि निकुञ्ज, वन, विभिन्न संघसंस्थालाई सिडिओ कार्यालयमा नै बोलाएर माघ १३ गते छिटो नरभक्षी बाघ नियन्त्रणको लागि दबाब नै दिनुप¥यो । सम्बन्धित निकायहरुलाई ज्ञापनपत्रसमेत बुझाए ।
बाघ नियन्त्रणमा समन्वय गर्ने सबै निकाय तथा नियन्त्रणमा खटिने सबैलाई सो क्षेत्रबाट निर्वाचित भएको नाताले जनताको तर्फबाट समेत धन्यवाद दिन चाहान्छुँ । सो क्षेत्रमा अन्य बाघहरु रहेकोले जोखिम अझै घटिसकेको छैन ।
गाउँ क्षेत्रका जंगलमा फेरि बाघ देखिए नियन्त्रणमा लिनुपर्छ । यो कार्यक्रममा सहयोग र समन्वय गर्ने सिडिओ’साब, निकुञ्ज, वनका हाकिम’साबलगायत सम्पूर्णलाई धन्यवाद दिन चाहान्छुँ ।










प्रतिक्रिया दिनुहोस्