बाँकेमा अहिले कूल एक हजार चार सय ९३ मतदाता छन् । कूल मतदाताको संख्यामा कुनै पनि उम्मेदवारले कम्तिमा सात सय ४४ मत प्राप्त गरे भने ५१ प्रतिशत पुग्न जान्छ । तर, कुनै पनि उम्मेदवारले बहुमत पुग्न एक मत मात्रै पनि कम ल्याएको खण्डमा दोस्रो चरणमा मतदान हुने छ र नेतृत्वको छिनोफानो दोस्रो चरणबाट हुनेछ ।
शुभाकर विश्वकर्मा । नेपालगन्ज ।
स्वर्गीय बाबुकृष्ण शर्मा नेपाली कांग्रेस बाँकेका संस्थापक हुन् । नेपाली कांग्रेस बाँकेका पहिलो सभापति भने कुवरकल्लु सिंह भए । उनी २००३ सालमा सुवर्णशम्शेर नेतृत्वको तत्कालीन प्रजातान्त्रिक कांग्रेसबाट सभापति भएका थिए । पछि तत्कालीन राष्ट्रिय र प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस बन्यो । पार्टी एकीकरणपछि पनि कल्लुसिंह नै सभापति बने ।
उनको २००९ मा निधन भयो । २०१५ सालभन्दा अघि भने स्वर्गीय भगौती कुर्मी सभापति रहेको पूर्व सभापति सनत रेग्मी बताउँछन् । तर, नेपाली कांग्रेस बाँकेको कार्यालयमा स्वर्गीय सर्वज्ञमान श्रेष्ठ (२००३–२००६) सम्म सभापति भएको उल्लेख गरिएको छ । श्रेष्ठले पार्टी स्थापनाका लागि भूमिगत रुपमा सहयोग गरेको उनी दाबी गर्छन् । उनलाई बाँके कांग्रेसको संस्थापकमध्ये एक मान्न सकिने उनले बताए । स्वर्गीय गोपालबहादुर श्रेष्ठ पनि केही समय सभापति भएका थिए ।
२०१७ मा राजा महेन्द्रले कू गर्दा जलालुद्दिन सिद्धिकी बाँके सभापति बने । त्यसपछिका सभापति स्वर्गीय रणेन्द्र हमाल (२०३४–२०४४) हुन् । त्यसयता २०४६ सालको परिवर्तनपछि सहमतीय प्रत्रियाबाट युवराज शर्मा (२०४५–४९) सम्म सभापति भए । त्यसपछि स्वर्गीय कृष्णप्रसाद भट्टराईले सनत रेग्मीलाई (२०४९–२०५३) सभापति बनाएका थिए । रेग्मीपछि गजेन्द्र हमाल (२०५३–२०५६) सभापति बने भने कृष्णमान श्रेष्ठ (२०५६–२०६७) सम्मले बाँके कांग्रेसको नेतृत्व गरे ।
निर्वाचनमार्फत विजयी भएर बाँकेको कांग्रेसको नेतृत्व स्वर्गीय डाक्टर अरुण कोइरालाले गरे । सभापति भएकै बेला उनको दुःखद् निधन भयो । त्यसपछि हाल राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष रहेका लाहुराम थारु कार्यबाहक सभापति बने । उनी पछिकी सभापति हुन्, किरण कोइराला । कोइरालाद्वय निर्वाचनमार्फत नेतृत्वमा आएका नेता हुन् । उनीहरु श्रीमान्÷श्रीमती हुन् । २०७२ सालमा पहिलो महिला पार्टी सभापति भएकी कोइराला कार्यकालको उत्तरार्धमा छिन् । उनी दोस्रो चरणको मतदानमार्फत लामो इतिहास बोकेको नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्वमा पुग्न सफल भएकी थिइन् ।
फागुन १९ गते (आज) बिहान ९ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । १२औँ सभापतिको लागि तीनजना चुनावी मैदानमा छन् । यो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । यो अधिवेशनमा प्यानल प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस केन्द्रदेखि टोलस्तरसम्मै विभिन्न नेता विशेषका गुट भएको पार्टी हो । नेपाली कांग्रेस बाँकेमा पनि ती गुट प्रत्यक्ष देखिँदै आएका छन् । यसपटक पनि सिंगो पार्टीको नभइ गुटबाट उम्मेदवार बनेका नेता पार्टी नेतृत्वमा छनोट हुने छन् । यो नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रको चलनकै रुपमा स्थापित भएको विषय हो ।
अधिवेशनमा सबैको मुख्य चासो जिल्ला सभापतिसहित पदाधिकारीमा कुन गुटका व्यक्ति निर्वाचित होला भन्ने छ । अहिलेसम्म लुम्बिनी प्रदेशका बहालवाला मन्त्रीदेखि पूर्व संविधानसभा सदस्यसम्म सभापतिको चुनावी मैदानमा छन् ।
संस्थापन (शेरबहादुर देउवा) गुटबाट सुरेन्द्र हमाल र बादशाह कुर्मी र संस्थापन इतर (डा.शेखर कोइराला) गुटबाट नारायणप्रसाद गौडेल चुनावी मैदानमा छन् । संस्थापन इतरबाट गौडेल एक्लो उम्मेदवार हुन् भने हमाल र कुर्मी संस्थापन पक्षका उम्मेदवार हुन् । हमाल लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री छन् । कुर्मी संविधानसभा पूर्व सदस्य हुन् । गौडेलले २०७२ सालमा सभापतिमा पराजय भएका थिए ।
हमाल र कुर्मी संस्थापन पक्षको आधिकारिक उम्मेदवार को हो भन्ने टुंगो लाग्न सकेको छैन । मतदातास्तरमा भोट माग्न जाँदा दुवैले आफू आधिकारिक उम्मेदवार भएको स्वघोषणा गरिरहेका छन् । परिस्थितिले नाटकीय रुप नलिए दुवैजना एकै गुटबाट चुनावी मैदानमा उत्रिने छन् । यसो भएमा मतदाता बाँडिने सम्भावना छ । यसको फाइदा दोस्रो पक्षमा हुने छ ।
कुर्मीले पत्रकार सम्मेलनको आयोजना गरेरै आफू चुनावी मैदानबाट पछि नहट्ने बताइसकेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले, ‘म धेरै अगाडि बढिसकेकाले कुनै पनि हालतमा पछाडि नघट्ने बताएका थिए । यस्तै अर्का उम्मेदवार हमालको पनि दाबी कुर्मीको जस्तै छ । उनले पनि आफ्नो जित पक्का जस्तै भएको बताइसकेका छन् । यता, गौडेल आफू एक्लो उम्मेदवार भएकोले आफ्नो जित निश्चित हुनेमा विश्वस्त देखिन्छन् ।
यसभन्दा अघिल्लो निर्वाचन पनि दोस्रा चरणसम्म पुगेको थियो । यसपटक पार्टीगत गुटमा समेत भारी मात्रामा फेरबदल भएको छ । गत निर्वाचनमा पनि सभापतिको उम्मेदवार बनेका गौडेल यसपटक संस्थापन इतर पक्षबाट एक्लो उम्मेदवार बनेका छन् । उनले त्यतिबेला दोस्रो चरणमा कोइरालालाई समर्थन गरेका थिए ।
यसपटक तीनजना उम्मेदवार रहेकोले नेतृत्वको लडाइँ रोचक बन्ने देखिन्छ । बाँकेमा अहिले कूल एक हजार चार सय ९३ मतदाता छन् । कूल मतदाताको संख्यामा कुनै पनि उम्मेदवारले कम्तिमा सात सय ४४ मत प्राप्त गरे भने ५१ प्रतिशत पुग्न जान्छ । तर, कुनै पनि उम्मेदवारले बहुमत पुग्न एक मत मात्रै पनि कम ल्याएको खण्डमा दोस्रो चरणमा मतदान हुने छ र नेतृत्वको छिनोफानो दोस्रो चरणबाट हुनेछ ।
‘मेरो जित सुनिश्चित छ’
नारायणप्रसाद गौडेल
सभापति पदका उम्मेदवार, नेपाली कांग्रेस बाँके
नेपाली कांग्रेस बाँके हाक्ने दृढताका साथ चुनावी मैदानमा छुँ । यो मेरो दोस्रोपटकको उम्मेदवारी पनि हो । त्यसैले नारा नै दिएको छुँ, ‘यसपटक, एकपटक’ ।
एकपटक पार्टीको नेतृत्व गर्ने अवसरको नजिक आइपुगेको छुँ । मतदाताले मलाई जिताउनेमा आशावादी छुँ । त्यसैले मेरो जित सुनिश्चित छ । त्यो पनि पहिलोपटकको मतदानमा । मलाई लाग्छ, मैले दोस्रोपटक निर्वाचन लड्नुपर्ने अवस्था आउने छैन । बाँकी भगवान्रुपि मतदाताको हातमा छ ।
म बन्छु मुखिया
सुरेन्द्र हमाल
सभापति पदका उम्मेदवार, नेपाली कांग्रेस बाँके
आज एकदमै महŒवपूर्ण दिन । हामी जिल्लाको मुखिया (सभापति) छान्दै छौँ । सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेछ । संस्थापन पक्षको आधिकारिक उम्मेदवार म हो । मेरो जित पहिलो चरणमै सुनिश्चित छ ।
कूल १४ सय मतदाता छन् । एक हजार मेरो पक्षमा छन् । मतदाताले मलाइै नै रोज्नु हुन्छ । त्यति भएपछि मैले नजितेर कसले जित्ने । म ढुक्क छुँ । म जित्छुँ । जितेर पार्टीलाई एकढिक्का बनाउने छँु ।
९० प्रतिशत मतदाताको साथ छ
बादशाह कुर्मी
सभापति पदका उम्मेदवार, नेपाली कांग्रेस बाँके
यो पार्टीको निर्वाचन हो । आन्तरिक प्रतिस्पर्धासमेत हो । निर्वाचनलाई आफ्नो पक्षमा पार्न अन्तिमसम्म प्रयास जारी रहने छ । अहिलेसम्म नेता कार्यकर्ताबाट राम्रो प्रतिक्रिया आइसकेको छ । उहाँहरुकै साथका कारण म चुनावी मैदानमा आएको छँु ।
मसँग अन्य दुईजना प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाताले भने मलाई धेरै भोट दिनेमा विश्वस्त छुँ । बहुसंख्यक मतदाता मेरो पक्षमा छन् । ९० प्रतिशत मतदाता मेरो समर्थनमा छन् । यो मेरो जित्ने आधार हो ।









प्रतिक्रिया दिनुहोस्