नेपाल मुद्रण उद्योग महासंघका लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठक दाङको भालुबाङमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीको प्रमुख आथित्यता र लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षमा उक्त बैठक सम्पन्न भएको हो ।
मुद्रण व्यवसायीले प्रदेशमा वार्षिक एक करोड बढी राजस्व तिर्ने गरेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष पराजुलीले जनाए । ‘हामी मुद्रण व्यवसायीले प्रदेशबाट मात्र राज्यलाई वार्षिक करोड बढी राजस्व तिर्छाैं,’ उनले भने, ‘ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छौं ।’
लुम्बिनीमा चार सय ५० भन्दा बढी मुद्रण व्यवसायी छन् भने एउटा प्रस्तावितसहित चारवटा पेपर मिल सञ्चालनमा छन् । महासंघको नजिकिँदै गरेको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर भेला भएको नेपाल मुद्रण उद्योग महासंघ बाँकेका अध्यक्ष विनोद पौडेलले जनाए ।
‘केन्द्रीय महाधिवेशनमा लुम्बिनी एक ढिक्का भएर जाने सकारात्मक छलफल भयो,’ उनले भने । उनका अनुसार लुम्बिनीमा करिब १५ अर्बभन्दा बढी मुद्रण व्यवसायमा लगानी गरिएको छ । लुम्बिनीमा सञ्चालित मुद्रणले यहाँका करिब पाँच हजार जनालाई रोजगारी दिएको बताइएको छ ।
विस्तारित बैठकमा केन्द्रीय उपाध्यक्ष विष्णु तिवारी, केन्द्रीय सदस्य मनोज जिसी, राजु गैरे तथा मीना सुवेदीको आतिथ्यता तथा लुम्बिनी प्रदेश जिल्ला अध्यक्षहरुको उपस्थित थियो ।










प्रतिक्रिया दिनुहोस्