प्रतिबन्धित नोट चलाउन भारतको आग्रह



कोहलपुर ।

नेपालमा प्रतिबन्धित भारतीय नोट चलनचल्तीमा ल्याउन भारतले नेपालसँग आग्रह गरेको छ । भारतले परराष्ट्र मन्त्रालयमार्फत आफ्ना दुई हजार दरका नोट चलनचल्तीमा ल्याउन नेपाललाई आग्रह गरेको हो ।

नेपालमा प्रतिबन्ध लगाइएका भारतीय दुई हजार दरका नोट चल्तीमा ल्याउन भारतले पटकपटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल आउनेहरुलाई समस्या परिरहेको भन्दै भारतले आग्रह गरिरहेको हो । दुई हजारको नोटले भारतीय पर्यटकलाई नेपालमा सास्ती हुन थालेपछि भारतले दुई हजारको नोट चलनचल्तीमा ल्याउन नेपाललाई आग्रह गर्दै आएको छ ।

भारतीय दुई हजारका नोट नेपालमा प्रतिबन्ध हुँदा भारतीय पर्यटकलाई सास्ती हुँदै आएको छ । ‘भारतबाट नेपाल आउने पर्यटकले सयका नोट बोकेर आउँदा निकै झन्झट भइरहेको र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परिरहेको भन्दै दुई हजार रुपैयाँका नोट चलाइदिन प¥यो भनेर भारतले आग्रह गरिरहेको छ,’ नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकले भने । तर नेपालले भने यहाँ रहेका पुराना एक हजार र पाँच सय दरका नोट सटही नगरेसम्म दुई हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको छ ।

नेपालमा बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाइ छ ।

व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी नभए पनि बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।

भारतले कालो धन नियन्त्रणको लागि भन्दै २०७३ सालमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएर दुई हजार दरका नोट निष्कासन गरेको छ । भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार