शिवु खनाल । दाङ ।
स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै दाङका राजनीतिक दलहरु चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् । सहरमा मात्र आफ्ना कार्यक्रम गर्दै आएका दलहरुले गाउँगाउँमा पुगेर निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न थालेका हुन् ।
अहिले दैनिकजसो विभिन्न राजतीतिक दलले गाउँगाउँमा भेला तथा बैठक गरिरहेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोग तथा सरकारका अन्य निकायहरुले समेत चुनावको तयारी गरिरहेका बेला राजनीतिक दलहरु समेत गाउँ पसेका छन् । जिल्लामा क्रियाशिल रहेका राजनीतिक दलले संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाइरहेका छन् । यसअघि नै स्थानीय तहमा निर्वाचन जितेका दलहरुले फेरि जित्ने रणनीति बनाएका छन् भने अन्य दलहरुले समेत आफूले जित्ने गरी विभिन्न रणनीति बनाएका छन् ।
सोही क्रममा मंगलबार नेपाली कांग्रेसका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पर्यटन तथा सहरी विकासमन्त्री डिल्ली चौधरी कोइलाबास नाकामा पुगेका थिए । उनले यहाँका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय चुनावको तयारीमा लाग्न निर्देशन दिए । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जिल्लाका सबै पालिकामा निर्वाचन केन्द्रित कार्यक्रम गरिरहेको बताउँछन् ।
‘स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै हामी तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘पुरानो विरासतलाई जोगाएर नयाँ पालिका तथा वडाहरुमा समेत जित निकाल्नेछौं ।’
यस्तै हालकै सत्ता गठबन्धनसँग चुनावमा भिड्नु पर्ने अवस्था आए पनि एमाले एक्लैले जित्ने गरी तयारी भइरहेको नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले बताए । उनका अनुसार एमालेले जिल्लामा चुनाव केन्द्रित हुने गरी योजना बनाइसकिएको छ । ‘अहिले नै चुनाव केन्द्रित कार्यक्रमभन्दा पनि पार्टीका सम्पर्क कार्यालय स्थापना गर्ने, पार्टीमा प्रवेश गर्नेहरूको स्वागत गर्ने कामहरु चलिरहेका छन्,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) दाङले संगठन सुदृढीकरणमा अहिले जोड दिइएको जनाएको छ ।
माओवादीका केन्द्रिय सदस्य निर्मल आचार्यले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै हुने भएकोले आगामी निर्वाचनमा पनि विरासत जोगाउन कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेको बताए ।
‘अब आउने स्थानीय निर्वाचनमा माओवादीले पहिलेभन्दा धेरै स्थानमा चुनाव जित्छ,’ उनले भने, ‘गठबन्धनलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनमा जाने तयारी भइरहेको छ ।’ उनले विभिन्न पार्टीले तालमेल गरेर चुनावमा पाँच दलीय गठबन्धन कायम रह्यो भने नेकपा एमालेलाई खातासमेत खुल्न नसक्ने बनाउन सकिने दाबी गरे ।
एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले समेत जिल्लामा आफ्ना गतिविधिहरु अगाडि बढाइराखेको छ । सबै स्थानीय तहमा आफूहरु बलियो रहेको एकीकृत समाजवादी पार्टी दाङका अध्यक्ष सुरामणि बेल्वासेले बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित तालमेल गरेर जाने निश्चित रहेको उनले दाबी गरे ।
‘केपी ओलीले प्रतिगमन गरेपछि सबै दलसँग सहकार्य गरेर संघ, प्रदेश र स्थानीय सरकार गठबन्धनले चलाइरहेको छ,’ उनले भने, ‘अबको निर्वाचनमा हाम्रो तयारी गठबन्धन गरेर अगाडि बढ्ने हो । गठबन्धन कायम राख्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्