आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त



कोहलपुर ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने बित्तिकै आइपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए । उनका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आइपीओ जारी गर्नेछ ।

धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो ।

यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल एक सय ९१ जना कर्मचारी परिचालन गरी ३४ हजार चार सय ३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भएपश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरूतर्फ कुल १० करोड ३८ लाख छ । आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा दुई करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरण योग्य मुनाफा चार करोड नौ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५०.१२ भन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको थियो । आइपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार