प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भए पनि अझै पक्राउ पुर्जी जारी भएको छैन । उनीविरुद्ध गत माघ २७ गते जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी थिइन् ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ २४ गते जाहेरी दिए पनि चार दिन पछि मात्रै जाहेरी दर्ता भएको थियो । सुरुमा बाँके प्रहरीले पूर्वमन्त्री बानियाँविरुद्धको जाहेरी दर्ता गर्न आनाकानी गरे पनि चौतर्फी दबाबपछि जाहेरी दर्ता गर्न बाध्य भएको थियो ।
पीडित शिक्षिकाले पूर्वमन्त्री बानियाँले आफूलाई माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको उल्लेख गरेकी छन् । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेनसमेत रहेको बुझिएको छ । जाहेरीमा ती शिक्षिकाले बानियाँले आफ्नो २५ लाख रुपैयाँ तिर्नुपर्ने समेत माग गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार बलात्कार आरोपित सांसदलाई पक्राउ गर्न बाँके जिल्ला अदालतलाई आदेश मागेको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधुसुधन न्यौपानेले बलात्कार आरोपित सांसदलाई पक्राउ पुर्जी पाउँ भनी आदेश माग गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले बाँके जिल्ला अदालतलाई आदेश मागेको हो ।
‘सांसदविरुद्ध मुद्दा दायर गरेर प्रक्रिया अघि बढाइएको छ । हामी प्रक्रियागतरुपमा अघि बढेका छौँ । सोहीअनुसार अदालतको अनुमति माग गरिएको हो,’ उनले भने । अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो ।
यता, बाँके जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय बाँकेबाट सांसदलाई पक्राउ गरी पाउँ भनी निवेदन आएको पुष्टि गरेको छ । बाँके जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टले आइतबार निवेदन आएको र निर्णय नभएको बताए । उनले भने, ‘प्रहरीले निवेदन दिएको छ । आइतबार निर्णय भएन । आदेश जारी गर्ने वा नगर्ने भनेर आज (सोमबार) निर्णय हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्