दुई लाख धरौटीमा छुटे विकास पुन



दाङ ।

ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकास पुन दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।

कपिलवस्तु वाणगंगा ४ का तिलक थापाले साढे ४९ लाख ठगी गरेको भन्दै पुनविरूद्ध दिएको मुद्दाका आधारमा उनी माघ २ गते काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउपछि दाङ ल्याइएका पुनलाई जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले पुर्पक्षका लागि बिहीबार दुई लाख धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए।

सूचना अधिकारी शर्माका अनुसार यो बीचमा जाहेरीवाला थापाले बीचमै आएर आफूहरूको व्यवहार मिलिसकेको र बाँकी रकम फागुनमा दिने गरी कुरा टुंगिएको भनेर निवेदन दिएका थिए।

अदालतको माग बमोजिम पुनले बिहीबार नै दुई लाख रुपैयाँ दाखिला गरेका थिए।

तर, जिल्ला र उच्च अदालत तुलसीपुरबाट विगतको एउटा ज्यान मार्ने उद्योग मुद्दामा पुनलाई पाँच वर्ष जेल सजाएको फैसला भएको थियो। त्यो सजाय भुक्तानी गर्न बाँकी रहेको हुँदा तोकिएको सजाय भुक्तानीका लागि भन्दै कारागार पठाइएको थियो।

तर, पुन यो बीचमा ज्यान उद्योगको उक्त मुद्दा दोहोर्‍याई पाऊँ भन्दै सर्वोच्च अदालतमा पुगेको प्रत्येक दिनको तीन सयको दरले पैसामा दाखिल गरी सर्वोच्चबाट निस्सा प्राप्त गरेका छन्।

सूचना अधिकारी शर्माका अनुसार सोही व्यहोरा उल्लेख गर्दै आफूलाई थुनामा राख्नु उचित होइन भन्दै पुनले शुक्रबार जिल्ला अदालतमा निवेदन पेस गरेका थिए।

पुनविरूद्ध ज्यान उद्योगको मुद्दा सर्वोच्चमा विचाराधीन नै छ।

पुनलाई पाँच वर्ष काराबास सजायको बारेमा सर्वोच्चबाट अन्तिम निर्णय भएबमोजिम नै हुने गरी जिल्ला अदालतले छोड्न आदेश दिएको हो।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार