हुम्लामा खाद्यान्न संकट हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले हुम्लामा नियमित कोठाभन्दा थप चामल पठाउन थालेको छ । कर्णाली प्रदेश सरकारको ढुवानी सहयोगमा दुई सय क्विन्टल चामल हुम्ला पठाउन थालेको हो ।
पहिलो चरणमा ८४ क्विन्टल चामल हुम्ला पुगेको छ भने दोस्रो चरणमा मंगलबारदेखि हुम्लामा चामल ढुवानी हुन थालेको छ । हिमपातका कारण रोकिएको ढुवानी मंगलबार पुनः सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामबहादुर विष्टले जनाए ।
हुम्ला पठाउन लागेको चामल हिमपात हुँदा नियमित उडान नभएपछि चामल पठाउन ढिला भएको थियो । अब नियमित उडान सुरु भएपछि बुधबारसम्ममा सबै चामल हुम्ला पुग्ने उनको भनाइ छ ।
‘हामीले चामल पठाउन नेपालगन्जस्थित राँझा विमानस्थलमा चामल पठाइसकेका थियौं,’ उनले भने, ‘हुम्लाको विमानस्थलमा हिमपात भएपछि ढुवानी हुन सकेको थिएन । विमानस्थलमा जमेको हिउँ पन्छ्याएपछि मंगलबारदेखि चामल ढुवानी सुरु भएको छ ।’
मंगलबार ताया एयरले चामल ढुवानीका लागि दुईवटा उडान भरेको ताया एयरका नेपालगन्ज प्रमुख दिलिप कार्कीले जनाए । उनका अनुसार तारा एयरले मंगलबार २६ सय १० केजी चामल हुम्ला पु¥याएको छ । त्यस्तै समिट एयरले तीन हजार ९० केजी चामल पु¥याएको समिट एयर नेपालगन्जका प्रमुख दिपक शाहले जनाए ।
कर्णाली प्रदेश सरकारले चामल ढुवानीका लागि तारा र समिट एयरसँग सम्झौता गरेको छ । हुम्लामा खाद्यान्न अभाव हुन नदिन त्यस क्षेत्रमा चामल पठाउन थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख विष्टले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जको स्टोरबाट राँझा विमानस्थलमा चामल पठाइ सकिएको सूचना अधिकारी अनिलकुमार महतोले जनाए ।










प्रतिक्रिया दिनुहोस्