कोहलपुर क्षेत्रमा भएका चोरीका घटनामा संग्लन रहेको आरोपमा प्रहरीले चारजना बालकलाई पक्राउ गरेको छ । आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले चारजना बालकलाई पक्राउ गरेको हो ।
बिहीबार राति कोहलपुरका तीन पसलमा चोरी भएपछि प्रहरीको टोलीले संलग्नहरुको खोजीमा जुटेको थियो । सोही क्रममा आइतबार बिहान चारजना बालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए ।
‘चार बालक पक्राउ परेका छन् । उनीहरुले चोरीका केही घटनामा आफ्नो संलग्नता भएकोसमेत बताइसकेका छन्,’ उनले भने, ‘चोरीका घटना बढेपछि हामीले सुक्ष्मरुपमा अनुसन्धान बढाइराखेका थियौं । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।’
कोहलपुरका मुख्य बजार क्षेत्रमा नै रहेका तीनवटा पसलमा बिहीबार रातिमात्र चोरी भएका थिए । पक्राउ परेका चारजना बालकहरु बाहिर जिल्ला घर भएर कोहलपुरमा आफन्तसँग बस्दै आएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । एकैरात न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजाघर, न्यूरोडकै नाङ्गलो रेष्टुरेन्ट एण्ड बार र पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा चोरी भएको थियो ।
सञ्चालक आकाश कार्कीका अनुसार कोहलपुर हाम्रो खाजाघरको काउण्टर फोडेर २७ हजार नगद, ४० हजार बढीको पेय पदार्थसमेत लिएका थिए । सोही दिन राति त्यहाँबाट नजिकै रहेको नाङ्गलो रेष्टुरेन्टबाट रक्सीका बोत्तल र केही नगदसमेत बालकहरुको समूहले चोरी गरेको थियो ।
यस्तै पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा समेत बिहीबार राति नै चोरी भएको थियो । त्यहाँबाट १५ हजार बढी रकम चोरी भएको बताइएको छ । पक्राउ परेका चारैजना दश वर्षमुनिका रहेकोले कारबाही प्रक्रिया अगाडि बढाउन समस्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका एक प्रहरीले बताए । ‘अनुसन्धानबाट पनि उनीहरुको संलग्नता देखिन्छ ।
सबै १० वर्षभन्दामुनिका नै रहेका छन्,’ मुद्दा फाँटका ती प्रहरीले भने, ‘केहीका अभिभावकहरु कार्यालयमा आउनुभएको थियो । चोरीको भएको क्षतिपूर्ति अभिभावकबाट तिराएर जिम्मा लगाउनुपर्ने देखिएको छ ।’ पक्राउ परेका चारैजनालाई कारबाहीबिना छोडेर फेरि कोहलपुरमा चोरीका घटना घट्नसक्ने प्रहरी अधिकारीहरु नै बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्