बाँकेमा बेमौसमी वर्षाः ३८ करोड क्षतिपूर्ति माग



स्थानीय तहले पठाएको तथ्यांकअनुसार आठमध्ये चार पालिकाले पूर्ण र चार पालिकाले प्रारम्भिक तथ्यांक पठाएका छन् । नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई प्रारम्भिक तथ्यांक पठाएका छन् ।

नरैनापुर, डुडुवा, खजुरा र जानकी गाउँपालिकाले भने गाउँपालिकाम भएको क्षतिको पूर्ण विवरण पठाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेमा बेमौसमी वर्षाबाट धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत माग गरिएको छ । जिल्लाका आठवटा स्थानीय तहमा वर्षाबाट भएको क्षतिको तथ्यांक संकलन गरी गृह मन्त्रालयसँग राहत रकम माग गरिएको हो ।

यसअघि गृह मन्त्रालयले २०७८ पुस १४ गते जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्थानीय तहलाई क्षतिको विवरण पठाउन पत्राचार गरेको थियो । मन्त्रालयको पत्रानुसार जिल्ला प्रशासन कार्यालय बाँकेले सबै स्थानीय तहलाई क्षतिको विवरण बुझाउन भनेको थियो ।

करिब एक महिना लगाएर आठवटै स्थानीय तहले बुझाएको राहत रकम गृह मन्त्रालयलाई पठाइएको हो । बेमौसमी वर्षाबाट धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने सन्दर्भमा माघ २१ गते बसेको राहत रकम निर्धारण समितिको बैठकको निर्णयानुसार राहत रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

२१ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले धानबाली क्षति पुगेका किसानहरुलाई राहत रकमको विवरण गृह मन्त्रालय (विपद अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखा) सिंहदरबार काठमाडौंलाई पत्र पठाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार स्थानीय तहले पठाएको तथ्यांकानुसार राहत सहयोगका लागि सिफारिस गरी पठाइएको छ ।

स्थानीय तहले पठाएको तथ्यांकअनुसार आठमध्ये चार पालिकाले पूर्ण र चार पालिकाले प्रारम्भिक तथ्यांक पठाएका छन् । नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई प्रारम्भिक तथ्यांक पठाएका छन् । नरैनापुर, डुडुवा, खजुरा र जानकी गाउँपालिकाले भने गाउँपालिकाम भएको क्षतिको पूर्ण विवरण पठाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय तहले पठाएको विवरण नै कार्यालयले गृह मन्त्रालयमा जस्ताको त्यस्तै पठाएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले मिसन टुडे दैनिकलाई जनाए । ‘वर्षाले गरेको क्षतिको राहतका लागि स्थानीय तहले पठाएको अनुमानित रकम पठाइएको छ । सबै पालिकाको रकम पठाइएको हो,’ उनले भने, ‘अब मन्त्रालयले कहिले राहत रकम पठाउने हो । त्यसको प्रतिक्षामा हामी छौं । मन्त्रालयले रकम पठाएपछि सबै पालिकाका किसानलाई वितरण गरिनेछ ।’

नरैनापुरमा धेरै, कोहलपुरद्धारा कम राहत माग

जिल्ला प्रशासन कार्यालय बाँकेले गृह मन्त्रालयलाई पठाएको रकमअनुसार बाँकेका सबै स्थानीय तहले कूल ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रूपैयाँ ४४ पैसा माग गरेका छन् । तीमध्ये सबैभन्दा बढी नरैनापुर गाउँपालिकाले माग गरेको छ । आठवटा स्थानीय तहमध्ये नरैनापुर गाउँपालिकाले कूल सात करोड ६७ लाख २६ हजार ४५ रूपैयाँ माग गरेको हो ।

यस्तै सबैभन्दा कम कोहलपुर नगरपालिकाले एक करोड ९५ लाख एक सय ८० रूपैयाँ ७६ पैसा राहत माग गरेको छ । बैजनाथ गाउँपालिकाले दुई करोड ८६ लाख १५ हजार पाँच सय ८७ रूपैयाँ, डुडुवा गाउँपालिकाले तीन करोड ५३ लाख २४ हजार चार सय ६७ रूपैयाँ २० पैसा रहेको छ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले चार करोड ७१ लाख ४२ हजार एक सय २० रूपैयाँ, खजुरा गाउँपालिकाले पाँच करोड ६७ लाख ६४ हजार पाँच सय रूपैयाँ ४८ पैसा राहत माग गरेको छ भने राप्तीसोनारी गाउँपालिकाले ६ करोड र जानकी गाउँपालिकाले ६ करोड ४१ लख तीन हजार दुई सय ६५ रूपैयाँ राहत माग गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार