प्युठानमा बेहुलाबेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा आठजनाको ज्यान गएको छ । शनिबार बिहान भएको जीप दुर्घटनामा परेर बेहुलाबेहुलीसहित पाँचजना घाइते भएका छन् ।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष छन् । मृतक आठजनामध्ये एकै परिवारका तीनजना सदस्यसमेत रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा गौमुखी गाउँपालिका–६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिए । दुर्घटनामा सोही वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी–६ लुङकी १८ वर्षीया विपना जिसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रिमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जिसी घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक
(डीएसपी) सत्यनारायण थापाले बेहुलीको एउटा हात नै चुडेको जानकारी दिए ।
गम्भीर घाइते बेहुलीसहित तीनजनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जिसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ । जीप सडकबाट तीन सय मिटर तल खोल्सामा खसेको थियो । रातभर पानी परेको र बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बेहुली भिœयाउने उल्लासमा रहेको गाउँमा शव बोकेर घाट जानुपर्ने बाध्यता आइलागेपछि गाउँ नै शोकमा डुबेको स्थानीय दीपक वलीले जानकारी दिए । ‘जे–जस्तो बज्रपात परे पनि अब छातिमाथि ढुंगा राखेर हामी मृतकहरूको अन्तिम संस्कार गर्नेछौं,’ उनले भने ‘बेहुली भिœयाउने उल्लासमा रहेको लिवाङका गाउँलेहरू यतिखेर सात शव बोकेर घाट जानुपर्ने बाध्यता आइलागेको छ ।’









प्रतिक्रिया दिनुहोस्