चिसोले जनजीवन प्रभावित



कोहलपुर ।

बुधबार बाँकेलगायत पश्चिम तराईका जिल्लाको जनजीवन कष्टर भएको छ । सोमबार र मंगलबार सामान्य घाम लागेको पश्चिम तराईमा बुधबार बिहानैदेखि बाक्लो हुस्सु र कुहिलो लागेको थियो ।

चिसोका कारण ज्येष्ठ नागरिक, बालबालिका, बिरामी, विपन्न, अतिविपन्न, मजदुरहरु बढी प्रभावित भएका छन् । मजदुरहरु बुधबार कामै गएनन् । ‘बिहानैदेखि अत्यधिक चिसो हुँदा काम जान सकेन,’ नेपालगन्जकी सावित्री सार्कीले भनिन्, ‘काम नहुँदा अर्काे दिन खान लगाउन समस्या हुन्छ ।’ दैनिक ज्यालादारी काम गरेर गुजारा चल्ने वर्गलाई चिसोले धेरै प्रभाव पारेको उनको भनाइ छ ।

चिसोका कारण पश्चिम तराईका प्रमुख सहर नेपालगन्ज, कोहलपुर घोराही, दाङ, धनगढी, वीरेन्द्रनगर, बुटवललगायतका क्षेत्रमा भिडभाड कम भयो । सर्वसाधारणको चहलपहल नहुँदा व्यापारसमेत अरु दिनको तुलनामा बुधबार कम भएको व्यापारीहरुले बताएका छन् । बुधबार चिसो बढ्दा नेपालगन्जका केही क्षेत्रमा विद्युत् कटौती हुँदा झन नागरिक मारमा परे ।

बाक्लो हुस्सुका कारण राजमार्गहरुमा तथाा सहर बजारभित्रका सडकमा यातायातका साधन पनि कम मात्रामा चलेका छन् । साँझतिर झन बढी बाक्लो हुस्सुसँगै शीतलहर दुई मिटर अगाडिकै सवारीसाधन देखिँदैन । ‘नजिकै अगाडिको सवारीसाधन देखिँदैन,’ कोहलपुरका वीरभान जैसीले भने, ‘यस्तोमा सवारीसाधन चलाउन पनि कठिन छ ।’

दिनभरि हुस्सुसँगैको कुहिरो र साँझपख शीतलहर हुँदा यहाँको जनजीवन कष्टर भएको छ । सोमबार र मंगलबार सामान्य घाम लागे पनि अरु दिन हुस्सु र कुहिरोले पश्चिम तराईका जिल्लामा चिसो उस्तै थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार