नेपालगन्जको नगरसभा सम्पन्नः सञ्चार नीति संशोधनसहित पारित



नेपालगन्ज ।

ऐन र नीति संशोधनसहित पारित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको १०औँ नगरसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न नगरसभाले एउटा ऐन र एउटा नीति पारित गरेको थियो ।

नगरसभाले भूउपयोग र जग्गा व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक, पारदर्शी बनाउने उद्देश्यका साथ भूउपयोग ऐन संशोधनसहित पारित गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

यस्तै नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधनसहित पारित गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णयसमेत नगरसभाबाट भएको छ । नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले आफूहरुको कार्यकाल सफल भएको दाबी गरे ।

कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भए पनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उनले ५ बर्से कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताए ।

‘विकास कार्य निरन्तर चल्छ । चालू आर्थिक वर्षका कार्यक्रम छिटोभन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारीहरुमा आग्रह गर्दछुँ,’ उनले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार