बाँकेमा २१० जनाले लगाए बुष्टर खोप



नेपालगन्ज ।

बाँकेमा आइतबारदेखि बुष्टर खोप लगाउन सुरु भएको छ । कोभिड–१९ विरुद्ध खोपको पूर्ण मात्रा (दोस्रो चरणसम्म) लगाइ सकेको ६ महिना पूरा भइसकेका नागरिक र ६० वर्षभन्दा मुनिकालाई खोप लगाउन सुरु गरिएको हो ।

आइतबार भेरी अस्पतालमा दुई सय १० जनाले बुष्टर खोप लगाएका छन् । सोमबारदेखि कोहलपुर मेडिकल कलेजबाट पनि उक्त खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहीले जानकारी दिए ।

उनका अनुसार आइतबार चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरुले बुष्टर खोप लगाएका छन् । ‘आइतबारदेखि बुष्टर खोप सुरु भएको छ,’ उनले भने, ‘यो निरन्तर चलिरहन्छ ।’

६० वर्षभन्दा माथिकालाई भने माघ १४ गतेदेखि उक्त खोप लगाउन सुरु गरिने छ । सार्वजनिक सेवामा खटिने नागरिकहरुलाई बुष्टर मात्रा लगाउने व्यवस्था स्थानीय तहसँगको समन्वयमा छिट्टै सञ्चालन गरिने उनको भनाइ छ ।

प्रमुख शाहीका अनुसार बाँकेमा करिब नौ हजार आठ सयले दोस्रो मात्रा खोप लगाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार