राप्तीसोनारी गाउँपालिकाले स्थानीय भुवरभवानी मेला लगाउने विषयमा धुलमुले धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति निकाल्दै गाउँपालिकाले मेला सञ्चालन गर्न वा नगर्न स्पष्ट केही खुलाएको छैन ।
गाउँपालिकाले भनेको छ, ‘भुवरभवानी मेला व्यवस्थापनका लागि ठेक्का बन्दोबस्त भइ तपाईंसँग सम्झौता भएता पनि परिवर्तित प्रतिकूल परिस्थितिमा मेला सञ्चालन नहुने अवस्था प्रति गम्भीर हुँदै सबै समस्या चुनौती एवम् नतिजालाई मध्यनजर गर्दै यस पत्रको आसयको बर्खखिलाप हुने गरी मेला सञ्चालन भएमा भविष्यमा आउन सक्ने स्वास्थ्य समस्यालगायत समाजमा कायम रहेको अमनचयन तथा शान्ति सुरक्षा खल्बिलिएमा सो प्रति पालिका जिम्मेवार नहुने व्यहोरा जानकारी गराइन्छ ।’
गाउँपालिकाले कोरोना भाइरसको तेस्रो लहर सुरु हुँदै गर्दा विद्यालय भने बन्द गर्न निर्देशन दिइसकेको छ । यता मेला सञ्चालन गर्न ठेक्का आह्वान गरेको गाउँपालिकाले स्थगितको गर्न सकेको छैन । उल्टै मेला सञ्चालनका लागि जिम्मा पाएको कम्पनीलाई मेला सञ्चालन गर्ने भए सञ्चालन गर्न र त्यसपछि आउने स्थिति आफैँ जिम्मेवार हुन भन्ने धारणा सार्वजनिक गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीद्वारा हस्ताक्षेरित सुचनामा भनिएको छ, ‘परम्परागत मान्यताअनुरुप मेला सञ्चालन गर्नैपर्ने भए जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख भएका निर्देशन तथा स्वास्थ्य मापदण्डको पालना गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति निलाइ मेला व्यवस्थापन गर्नुहुन अनुरोध छ ।’
पछिल्लो समय कोभिड–१९ को प्रकोप अझै पनि कायमै रहेको र यसको प्रभान दिनानुदिन बढिरहँदा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन जारी गरेका छन् । तर उक्त निर्देशनबमोजिम गाउँपालिकाले मेला व्यवस्थापनमा लापरबाही गरेको देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्