राप्तिपारिमा मान्छे खाने बाघले आहाराको रुपमा राखिएका पाडोहरु खाएन



कोहलपुर ।

राप्तीपारि फत्तेपुरको जंगलमा बाघको आहाराका लागि राखिएका भैंसीका पाडोहरु बाघले तीन दिनसम्म खाएको छैन ।

मंगलबार र बुधबार राखिएका दुई पाडोहरु बाघले बिहीबार रातिसम्म नखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी० बर्दियाका प्रमुख रवीन कडरियाले जानकारी दिए ।

‘बाघ नियन्त्रणका लागि बाघ आउनसक्ने सम्भावित स्थानमा राखेका पाडोहरु खान आएको छैन,’ उनले भने, ‘त्यस क्षेत्रमा राखिएका क्यामेरामा समेत बाघ देखिएको छैन । पक्कै पनि बाघ पाडोहरु खान आउँला ।’

कहिलेकाहिँ आहारा खानको लागि बाघ ढिलोसमेत आउनसक्ने उनले बताए । ‘हाम्रो टोलीले आहारा राखिदिएको ठाउँ खोला हो, पानी खान खोलामा आएको पाइला भेट्टाएपछि त्यहीँ ठाउँमा आहारा राखिदिएका छन्, तर त्यहाँ अहिले बाघ आएको छैन,’ कडरियाले भने ।

आहारा खान बाघ आउनेबित्तिकै त्यहाँ जडित स्वचालित क्यामेराले अटोमेटिक फोटो खिच्ने उनले बताए ।

उक्त क्यामेराले खिचेको फोटो कर्मचारीले आफ्नो मोबाइलमा तत्कालै हेर्न सक्छन् । बाघलाई आहारा राखिदिएको स्थान सदाबहार सामुदायिक वन क्षेत्र हो । उक्त स्थान मानव बस्तीबाट करिव ४-५ किलोमिटर पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार