मान्छे खाने बाघको खोजी कार्य रोकिँदैन



नेपालगन्ज ।

डिभिजन वन कार्यालय बाँकेले मान्छे खाने बाघको खोजी कार्य जारी रहने बताएको छ । कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले तीन दिनदेखि नै बाघको खोजीको भइरहेको जानकारी दिए ।

‘प्राविधिक टोली आएपछि बाघ देखिएको छैन,’ उनले भने, ‘जंगलमा बाघका नयाँ पाइला देखिएका छन् । बाघ नियन्त्रणको लागि खटिएको प्राविधिक टोली लागिरहेको छ ।’

सूचना अधिकारी खड्काका अनुसार मान्छे खाएको बाघ सोमबारसम्म फत्तेपुर क्षेत्रको जंगलमा देखिएको थियो ।

‘सोमबार अघिसम्म हाम्रो र नेपाली सेनाको टोली जंगलमा बाघको आमुन्नेआसुन्ने भएको थियो । बाघ धपाउन केही राउण्ड हवाइ फायरसमेत गर्नुप¥यो,’ उनले भने, ‘त्यसपछि भने जंगलमा बाघ नजिकैबाट देखिएको छैन ।’

बाघ फेला नपरे पनि नियन्त्रणमा लिनको लागि परिचालित भएको टोलीले फिल्डमा नै बसेर काम गरिरहेको उनले जानकारी दिए । फत्तेपुर क्षेत्रको जंगलमा रहेको बाघ अली बढी हिंस्रक देखिएकोले त्यसैलाई नियन्त्रणमा पहिला लिनको लागि प्रयास भइसकेको वन कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार