प्रहरीको सिआइडी हुँु भन्दै ठगी गरेको आरोपमा घोराहीका एक युवा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं। १५ का ४५ वर्षीय रामबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ।
बस्नेतले बुधबार जिल्ला मालपोत कार्यालय नजिकैको एक पसलमा गएर दुइटा ब्ल्यांकेट लिएका थिए। तर, पसलेले त्यसको पैसा माग्दा बस्नेतले आफू प्रहरीको सिआइडी भएको भन्दै पैसा नदिएर हिँडेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। मालपोत कार्यालय जिल्ला प्रशासन कार्यालयदेखि करिब ६० मिटरको दूरीमा छ।
‘बस्नेतले आफूलाई ब्युरोको सई हो भन्दै पैसा माग्दा थर्काएछन्’, एसपी काफ्लेले भने,‘पसलेको गुनासोको आधारमा जिप्रकाबाट फोन गर्दा पनि बस्नेतले म ब्युरोको सई हो, किन चाहियो हँ मलाई सबै थाहा छ भनेर थर्काएका थिए।’
त्यसपछि बस्नेतको बारेमा प्रहरीले अनुसन्धान गर्दा उनी नक्कली प्रहरी भएको खुल्न आएको एसपी काफ्लेले बताए। ‘सक्कली प्रहरी भए पनि त्यसरी सामान किनेपछि ठगी गर्न मिल्दैन,’ एसपी काफ्लेले भने, ‘ऊ जो भए पनि पक्राउ गरेर ल्याउन मैले आदेश दिएको थिएँ। अनुसन्धानपछि ऊ नक्कली प्रहरी भएको खुल्न आयो।’
एसपी काफ्लेका अनुसार यसअघि पनि बस्नेतले रामपुर क्षेत्रका केही स्थानीयलाई समेत आफू प्रहरीको सई हुँ भन्दै धम्क्याउने गरेको खुल्न आएको छ। ‘प्रहरीको सई हुँ भन्दै उसले धेरैलाई धम्की दिने तथा सताउने गरेका गुनासोहरू आएका छन्,’ एसपी काफ्लेले भने, ‘बस्नेतको यो पहिलेदेखि कै बानी रहेछ। यसअघिका केही प्रहरीसँग उसको निकट सम्बन्ध रहेको कुरा पनि खुलेको छ।’
यसअघि जिल्ला प्रहरीमा कार्यरत केही प्रहरीसँगको चिनजान, सम्पर्क र उठबसका कारण बस्नेतले आफूलाई नै प्रहरीको सई भएको भन्दै सर्वसाधारणलाई ठगी गर्ने तथा धम्क्याउने गरेको पाइएको हुँदा नियन्त्रणमा लिनु परेको एसपी काफ्लेले बताए। एसपीले भने, ‘प्रहरीकै आड भरोसा पाएरै बस्नेतले बदमासी गर्ने गरेको देखियो।’
प्रहरी नियन्त्रणमा रहेका बस्नेतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।










प्रतिक्रिया दिनुहोस्