कोहलपुर ।
नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सातवटामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
तीनवटा जिल्लामा निर्वाचनबाट नेतृत्व छनोट भएको छ । दुईवटा जिल्लाको अधिवेशन रोकिएको छ । सर्वसम्मत भएका भनिएका केही जिल्लामा विवादसमेत देखिएको छ ।
एमालेको जिल्ला अधिवेशनबाट रुपन्देहीमा तेजेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पुरुषोत्तम घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध भए ।
केसी यसअघि रुपन्देहीको क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक हुन । उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपमहासचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी सर्वसम्मत भएका छन् ।
पाल्पामा पनि धनेन्द्रराज घिमिरेको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । निर्वतमान उपाध्यक्ष मोहन थापाले पनि अध्यक्षमा दाबेदारी गरेका थिए । तर सहमति गर्न दबाब परेपछि उनले आफू राजनीतिबाटै अलग रहेको घोषणा गरेका छन् । त्यस्तै उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल सर्वसम्मत चयन भएका छन् ।
गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्विरोध निर्वाचित भएका छन् । अर्घाखाँची एमालेमा पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । अर्घाखाँचीमा सर्वसम्मत नेतृत्व चयन गरिए पनि असन्तुष्ट पक्षले केन्द्रको निर्देशनमा जबरजस्ती उम्मेदवारी फिर्ता लिन लगाइएको र एक पक्षीयरुपमा छनोट गरिएको नेतृत्वलाई सर्वसम्वतिको नाम दिएको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोविन्दप्रसाद भुसालले पार्टी नै परित्याग गरेको घोषणा गरेका छन् । जिल्लामा पार्टीभित्र चरम गुटबन्दी, नातावाद, कृपावाद र अवसरवाद लादिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको सचिव भुसालले घोषणा गरेका हुन् ।
यता एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् ।
उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हीरादेवी पुनसहितको एक सय २१ सदस्यीय नयाँ कर्यासमिति सर्वसम्मत भए । कपिलवस्तु र पश्चिम नवलपरासीमा निर्वाचनमार्फत नेतृत्व चयन भयो । बाँकेको जिल्ला अध्यक्षमा किस्मतकुमार कक्षमती सर्वसम्मतरुपमा चयन भएका छन् । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
नवलपरासी, कपिलवस्तु र प्युठानमा भने सहमति नजुटेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ । कपिलवस्तुको अध्यक्षमा डम्बर शर्मा विजयी भएका छन् । शर्माले दुई सय ३८ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बाबुराम खनालले उक सय ८६ मत पाएका थिए ।
उपसचिवमा अर्जुन केसीले एक सय ३१ मतसहित विजयी भए । एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दिपेन्द्र कार्की दुई सय ३२ मतसहित निर्वाचित भए । एमाले प्युठानमा भएको निर्वाचनबाट अध्यक्षमा विजयविराज बिष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतपरिणामअनुरुप उनले तीन सय १४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत मात्रै ल्याए ।
अधिवेशन हुन बाँकी प्रदेशका दुई जिल्लामध्ये रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले तत्कालका लागि अधिवेशन स्थगित गरिएको छ । रुकुम पूर्व हिमाली जिल्लामा पर्ने भएकाले पछि अधिवेशन गर्ने तालिका छ ।









प्रतिक्रिया दिनुहोस्