बाँकेमा लागूऔषधसहित तीनजना पक्राउ



कोहलपुर ।

बाँकेका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित तीनजना युवालाई पक्राउ गरेको छ । सीमा नाका जमुनाहबाट प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ भने नेपालगन्ज–२० राँझाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

जमुनाहबाट पक्राउ पर्नेमा जलजला गाउँपालिका– ६ पर्वतका २८ वर्षीय विष्णु पुर्जा पुन र निलकण्ठ नगरपालिका–१ धादिङका २० वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुको साथबाट नाकामा चेकजाँचका क्रममा ९ सय ९० ट्याबलेट नाइर्टोजेपाम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । दुवैजना सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै थिए । सोही क्रममा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।

यस्तै मंगलबार नै प्रहरीले नेपालगन्ज–२० राँझाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–८ खजुरा बस्ने ४२ वर्षीय विवेकशील मल्ल रहेका छन् ।

पक्राउ परेका मल्लको साथबाट कोरेक्स साढे चार लिटर र ट्रामाडोल एक हजार ट्याबलेट बरामद भएको बाँके प्रहरीले जनाएको छ । विभिन्न लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार