बाँकेमा फेरी बाघले लियो मान्छेको ज्यानः तत्काल नियन्त्रणमा लिन स्थानीयको दबाब



पाटेबाघले तीन दिनको फरकमा दुई जनाको ज्यान लिएपछि बाँके राप्तीपारीका स्थानीयहरु त्रसित बनेका छन् । स्थानीयले मान्छेको ज्यान लिने पाटेबाघलाई तत्काल नियन्त्रणमा लिन माग गरिरहेका छन् । दैनिकजसो मान्छे तथा पशु चौपायाहरु आक्रमण गर्न थालेपछि स्थानीयहरुले बाघलाई नियन्त्रण लिन दबाब दिएका हुन् ।

बाघको आक्रमणबाट ज्यान गुमाएकी फत्तेपुरकी चाँदनी थारुको घरमा जम्मा भएका स्थानीय

कृष्ण ओली । कोहलपुर ।

केही दिनयता राप्ती सोनारीको बैजापुर, विनौना र फत्तेपुर क्षेत्रमा आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन स्थानीयले दबाब दिएका छन् ।

उक्त क्षेत्रमा तीन दिनमा दुई महिलाको बाघले ज्यान लिएपछि तत्काल पाटेबाघलाई नियन्त्रणमा लिन स्थानीयहरुले सम्बन्धित निकायलाई आग्रह गरेका हुन् । बाघले पशु चौपाया र मान्छेमाथि आक्रमण गरेर ज्यान नै लिन थालेपछि स्थानीयहरु त्रासमा रहेका छन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ७ का वडाध्यक्ष रामलखन थारुले बाघले आतंक मच्चाउन थालेपछि मानिसहरुमा त्रास छाएको जानकारी दिए । ‘बाघको आतंक बढेपछि मानिसहरु सबेरै घरभित्र पसिसक्छन् ।

बालबालिकाहरुलाई विद्यालय एक्लै पठाउन समेत डर भइरहेको छ’ उनले भने, ‘स्थानीयहरुले तत्काल बाघलाई नियन्त्रणमा लिन दबाब दिइरहेका छौं । हामीले पनि माथिल्लो तहमा कुरा गरेका छौं ।’ मानिसको ज्यानभन्दा ठूलो अरु केही नभएको भन्दै वडाअध्यक्ष थारुले सबैजना अन्य काम छोडेर पनि बाघलाई नियन्त्रणमा लिन लाग्नुपर्ने बताए ।

शनिबार मात्र राप्ती सोनारी– ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । बिहान साढे १० बजे सदाबहार सामुदायिक वनमा दाउरा काट्न गएकी उनीलाई बाघले आक्रमण गरेको प्रहरी चौकी फत्तेपुरका इन्चार्ज यज्ञबहादुर खत्रीले जानकारी दिए । यसअघि गत बिहीबार मात्र बाघको आक्रमणबाट राप्तीसोनारी ४ प्रसहवाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

त्यस्तै, शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए । तर, बाघले एउटा बाख्रा मारेको थियो । राप्ती सोनारीमै बुधबार पनि जंगलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० वर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन् । बैजापुरका स्थानीय सन्तोष चौधरीले सम्बन्धित निकायले मान्छे खाने बाघलाई नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोश पोखे । ‘सम्बन्धित निकायले बाघ नियन्त्रण गर्न नसकेको हुँदा अब राप्ती सोनारी गाउँपालिकाबासीहरु बाघ मार्ने अभियान चाल्नुपर्छ’ उनले आक्रोशित हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अर्का स्थानीय समिर बिष्टले समेत बाघको आक्रमण बढ्दा समेत सम्बन्धित निकायले चासो नदिएको बताए । ‘सम्बन्धित निकायले चासो नदिदाँ पटक–पटक यस्ता घटनाहरु भइरहेका छन्’ उनले भने, ‘कि छिटो बाघ नियन्त्रण गरियोस् हैन भने त्यसलाई मार्न आदेश दिइयोस् ।’

नियन्त्रणको लागि समन्वय गरेका छौं 

राप्तीपारी क्षेत्रमा आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणको लागि समन्वय थालिएको छ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बाघ नियन्त्रणको लागि समन्वय भइरहेको जानकारी दिए । ‘हामीसँग बाघ नियन्त्रणको लागि स्रोत र साधन छैन ।

त्यसैले अन्य निकायसँग समन्वय गरिरहेका छौं’ उनले भने, ‘सबै निकायबीच समन्वय भएपछि बाघ नियन्त्रणको लागि जनशक्ति आउँछ ।’ डिभिजन वन कार्यालय बाँकेले आफुसँग बाघ नियन्त्रणको लागि स्रोत र साधन नभएको भन्दै बाघ नियन्त्रणमा लिइदिनको लागि प्रकृति संरक्षण कोषसँग शनिबार आग्रह गरेको थियो ।

‘बाघ नियन्त्रणमा लिएर अन्तै लगेर व्यवस्थापन गर्नुप¥यो भनेर हामीले यो सबै कामहरु शनिबार दिनभरीमा सबैसँग समन्वय गरेका छौं’ प्रमुख कँडेलले भने । बाघ नियन्त्रण लिने विषयमा प्रदेश र संघको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभाग लगायतसँग समेत समन्वय भइसकेको उनले जानकारी दिए ।

दुई हात्ती परिचालन

पाटेबाघले आतंक मच्चाउन थालेपछि नियन्त्रणको लागि हात्ती परिचालन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको ढकेरीबाट शुक्रबार राती उक्त क्षेत्रमा दुई हात्ती पु¥याइएको थियो ।

शनिबार बिहानैबाट राप्तीपारीको वन क्षेत्रमा हात्तीसहितको टोलीले गस्ती थालेको हो । बिहीबार महिलाको ज्यान लिएको क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा शनिबार अर्को क्षेत्रमा बाघले अर्की महिलाको ज्यान लिएको थियो ।

हात्ती देखेर बाघ डराउने भएकोले निकुञ्जले डिभिजन वन कार्यालय बाँकेको समन्वयमा दुई हात्ती त्यहाँ पु¥याएको हो । हात्तीसँगै नेपाली सेना, नेपाल प्रहरी, वन कार्यालय कर्मचारी तथा रक्षक, स्थानीयबासीले सामुदायिक वनबाट बाघ धपाउने भन्दै गस्ती गरिरहेका छन् । एउटा क्षेत्रमा गस्ती गरिरहदा अर्को क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि गस्तीमा समस्या भएको छ ।

तीन महिनामा चारको ज्यान लियो 

बाँकेमा पछिल्लो तीन महिनामा मात्र पाटेबाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक र राप्तीपारी क्षेत्रमा तीन जनाले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पाटेबाघको आक्रमणबाट तीन महिनामा चार जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेहरुमा एक भारतीय पुरुष, राप्ती सोनारी गाउँपालिकाका दुई महिला र नरैनापुर गाउँपालिकाका एक पुरुष रहेका छन् । पछिल्ला तीन दिनको अवधिमा मात्र राप्ती सोनारीमा दुई महिलाको ज्यान लिएको थियो ।

भारतीय नागरिकलाई निकुञ्ज क्षेत्रमा बाघले आक्रमण गरेर ज्यान लिएपनि अन्य तीन जनालाई भने सामुदायिक वन क्षेत्रमा ज्यान लिएको थियो । सबैलाई बाघले जंगल गएको बेला नै आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २५ गते आइतबार