लमही–घोराही सडक एक वर्ष नपुग्दै भत्कियो



शिवु खनाल । दाङ ।

लमहीदेखि घोराही जोड्ने सडक मर्मत सम्भार भएको एक वर्ष नपुग्दै पुनः जीर्ण बन्दै गएको छ । सडक मर्मतमा लापरबाही हुँदा एक वर्ष नहुँदै सडक पुनः जीर्ण बन्दै गएको स्थानीयहरुको भनाइ छ ।

गतवर्ष सडकमा रहेका खाल्डाखुल्डी पुरियो थियो । तर, अहिले सडक पुरानै अवस्थामा फर्किएको छ । सडक साँघुरो भएका कारण दुर्घटनासमेत बढ्ने जोखिम बढेको छ । तुलसीपुर–घोराही फोरलेनको काम अगाडि बढेता पनि लमही घोराही सडक भने जहाँको त्यहीँ छ । लमही–घोराही सडकखण्ड पुनः निर्माण गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।

सडकका अधिकांश खण्ड जीर्ण हुँदै गएको छ । सडक खण्डअन्तर्गत ठाउँठाउँमा परेका खाल्डा पुर्न सडक डिभिजन कार्यालय दाङले बर्सेनि टालटुल मात्र गर्दै आएको छ । खाल्डैखाल्डाले भरिएपछि दैनिक यात्रा गर्नसमेत जोखिम भएको छ ।

सडक धुलाम्मे हुँदा यात्रुलाई आवतजावतमा समस्या हुने गरेको स्थानीय शेरसिङ खड्काले बताए ।

‘सडकमा हिँडिनसक्ननु गरी धुलो उड्छ, सासै फेर्न गाह्रो हुन्छ,’ उनले भने, ‘सोही सडक भएर लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, घोराही उपमहानगरपालिका मेयर नरूलाल चौधरी र तुलसीपुर उपमहानगरपालिका मेयर धनश्याम पाण्डे दैनिक ओहोरदोहोर गर्ने भए पनि सडकको स्तरोन्नति र मर्मतका लागि खासै ध्यान नदिँदा जनताले सास्ती खेप्नुपरेको छ ।’

लमही नगरपालिकाका मेयर केसीले सडकबारेमा व्यापक गुनासो आउने गरेको स्वीकारे । उनले ठाउँठाउँमा सडक बिग्रिँदा आवतजावतमा समस्या भएको विषयमा आफूलाई थाहा भएको र जनताको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

‘हामीले लमही–घोराही सडकलाई हेर्ने मिल्दैन तर, सडक डिभिजन कार्यालय दाङसँग सडक मर्मतको लागि पटकपटक अनुरोध गर्ने गरेका छाँै,’ उनी भन्छन्, ‘लमही–घोराही सडक हेर्ने लायक छैन ।’

यता घोराही उपमहानगरपालिका मेयर चौधरीले मंगलबार मात्रै लमही–घोराही सडक मर्मतको लागि सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गरेको जनाए । ‘मैले इन्जिनियरसँग फोनमा कुराकानी गर्दा सडक मर्मतको लागि टेण्डर आह्वान गरेका छांै भन्नुहुन्छ,’ उनले भने ।

यता तुलसीपुर उपमहानगरपालिका मेयर धनश्याम पाण्डेले आफूले पनि लमही–घोराही सडक मर्मतको लागि सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गर्दै आएको जनाए ।

यता सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुबेदीले लमही–घोराही सडक मर्मतको जिम्मेवारी तुलसीपुर–घोराही फोरलेन सडक ठेकेदारको भएको बताए । उनले भने, ‘लमही–घोराही सडकखण्ड मर्मतको काम फोरलेनको भएता पनि फोरलेनले काम नगरेपछि हामीले सडक मर्मतको कामलाई अगाडि बढाएका छाँै ।

पहिलो चरणमा २० लाख बजेट विनियोजन गरी घोराहीको कुइरेपानीदेखि काम अगाडि बढाएका छौँ । अब थप सडक मर्मतको लागि एक करोड २० लाख बजेट विनियोजन गर्ने तयारी भइरहेको छ ।’ सडक मर्मतको बिग्रेको भाग कोटर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस (पीच) गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार