बाँकेमा खोरेतविरुद्धको खोप लगाइँदै



कोहलपुर ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज बाँकेले जिल्लामा रहेका भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरेको छ । खोरेत रोग उन्मुलन अभियानअन्तर्गत भ्याक्सिनेटरहरु बीच अभिमुखिकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज बाँकेका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीको अध्यक्षतामा भएको अभिमुखिकरणमा जिल्लामा रहेका ६३ जना भ्याक्सिनेटरहरुको सहभागिता थियो ।

अभिमुखिकरणसँगै भ्याक्सिनेटरहरुलाई खोरेतविरुद्धको खोप लगाइने भ्याक्सिनको डाटा इन्ट्रीको कामसम्बन्धी तालिम प्रदान गरिएको छ । बाँकेमा भोलि देखिनै भ्याक्सिनेसनको काम सुरु गरिने भएकाले पूर्वसन्ध्यामा अभिमुखिकरण र एफएनडी भ्याक्सिनेसन तथा एप सञ्चालन तालिम भ्याक्सिनेटरहरुलाई दिइएको विज्ञ केन्द्रले जनाएको छ ।

एफएनडी भ्याक्सिनेसन तथा एप सञ्चालन तालिमका लागि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको सहआयोजनामा सञ्चालन गरिएको मन्त्रालयका पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए ।

पशुहरुमा लाग्ने खोरेत रोग बाँकेमा सामान्यरुपमा देखा परिसकेकाले यसलाई नियन्त्रण गरी फैलन नदिन तत्काल सम्भावित स्थानका पशुहरुलाई भ्याक्सिन लगाउने काम गरिने विज्ञ केन्द्र बाँकेका प्रमुख अधिकारीले जानकारी दिइन् ।

अहिले नेपालगन्जमा रहेका छाडा पशुमा खोरेत रोगको संक्रमण सामान्यरुपमा देखिएको भन्दै कार्यालय प्रमुख अधिकारीले शंकास्पद पशुहरुलाई तत्काल नियन्त्रणमा लिई खोप लगाउने काम सुरु गरिएको उल्लेख गरिन् ।

बाँकेमा चालु आर्थिक वर्षमा दुई लाख ९० हजार पशुहरुमा खोरेत खोप लगाउने लक्ष्य रहेको भन्दै पहिलो चरणमा एक लाख ४५ हजार पशुमा लगाइने जानकारी दिइन् ।

कार्यालय प्रमुख अधिकारीले खोरेत रोगको संक्रमण पशुमा देखिए सिगान आउने, खुट्टामा घाउ हुने, मुख पाक्ने जस्ता समस्या देखा पर्ने हुदाँ यस्तो लक्षण पशुमा देखिए तत्काल नजिकैको पशु सेवा शाखा वा विज्ञ केन्द्रमा खबर गर्न किसानहरुलाई आग्रह गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १९ गते सोमबार