नेपाली कांग्रेस बाँके सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगन्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको शुक्रबार बाँके जिल्ला सभापति किरण कोइरालाले उद्घाटन गरिन् ।
पुस २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पारेर सम्पर्क कार्यालय खोलिएको हो । सभापति कोइरालाले सशक्त, जुझारु र उर्जाशील गौडेल समूहले चुनाव जितेपछि पार्टीमा नयाँ उर्जा सञ्चार हुने बताइन् ।
‘गौडेलजीलगायत अन्य उम्मेदवार सबै स्वयम् उर्जावान् र जुझारु हुनुहुन्छ, उहाँहरुले जितेर आएपछि पार्टीमा नयाँ उर्जा थपिन्छ,’ उनले भनिन्, ‘आजका दिनदेखि अब गाउँगाउँ, नगरनगर र वडावडामा गएर गौडेलको टिमलाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्नुहोस् ।’
सभापतिका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिस्पर्धा गर्न होमिएको बताएका थिए ।
‘यो संघर्षशील, कर्मशील युवाहरुको टिम हो, यो गफ गर्ने टिम होइन,’ उनले भने, ‘यो फिल्डमा गएर काम गर्ने टिम हो, क्षेत्रीय प्रतिनिधिहरुले विश्वास गरेर हामीलाई जिताउनुस्, हामी बाँकेमा कांग्रेसलाई एक छत्र बनाउन लाग्नेछौं ।’
संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले इमान्दार र कर्मशील गौडेल समूहलाई जिताउन सबैजना तन, मन र बचनले कटिबद्ध भएर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा नेता टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताए ।
गौडेल समूहले पुस १९ गते आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको जनाएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रम गर्न लागिएको सम्पर्क कार्यालय संयोजक युवा नेता डिल्ली गिरीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्