जानकी गाउँपालिकामा विव्यस गठनमा रोक



कोहलपुर ।

बाँकेको जानकी गाउँपालिकालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विद्यालय व्यवस्थापन समिति चयन गर्न रोक लगाएको छ । गाउँपालिकाले नियमविपरीत विद्यालय व्यवस्थापन समिति चयन गर्न थालेपछि उच्च अदालतले रोक लगाएको हो ।

न्यायाधीश ध्रुवराज नन्द र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले तत्कालका लागि विद्यालय व्यवस्थापन समिति भंग गर्ने र नयाँ नेतृत्व चयन गर्ने कार्य नगर्न पालिकालाई सोमबार आदेश दिएको छ ।

स्थानीय हिरालाल लोनियाले पुस ५ गते गाउँपालिकाले नियमविपरीत विद्यालय व्यवस्थापन समिति आफैँ भंग गर्ने र नयाँ समिति चयन गर्ने कार्य गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विद्यालय व्यवस्थापन समिति चयन नगर्न आदेश दिएको हो ।

आगामी चुनावलाई प्रभावित पार्ने मनसायले गाउँपालिकाका कार्यबहाक अध्यक्षसहितका जनप्रतिनिधिले विद्यालय व्यवस्थापन समितिमा आफ्ना मान्छे चयन गर्न थालेको भन्दै लोनियाले मुद्दा दायर गरेका थिए ।

जानकी गाउँपालिकामा २४ वटा विद्यालय र १५ वटा मदरसा रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार