ननकैया अहिर उमेरले ५५ नाघिन् । भगवानको भजन गाएर बस्ने उमेरमा उनी भगवानकै मूर्ति बनाउन व्यस्त छिन् । खजुरा गाउँपालिका वडा नम्बर ५ धनौली बस्ने ननकैयाको दिनचर्या मूर्ति बनाउन मै बित्छ ।
भगवानको मूर्ति बनाउन थालेको पनि २०-२२ वर्ष भयो । १६ धुर क्षेत्रफल जमिनमा एउटा सानो घर, एउटा भैंसी अट्ने गोठ छ । घरको आँगनमै ननकैयाले बनाएका विभिन्न भगवानका मूर्तिहरु छन ।
दुई छोरा एक बुहारी र आफू रहेको परिवारमा जेठो छोरा कतारमा वैदेशिक रोजगारीका लागि केही दिनअघि गएका छन् भने कान्छो छोरा बनकट्टीमा छोरीको घरमा बस्छन् । श्रीमान्को खजुरा बजारमा चिया पसल गर्दा पसलमै पाँच वर्ष अघि मृत्यु भएपछि घरको सबै जिम्मेवारी ननकैयामाथि छ ।
ननकैया अहिरले बनाउने भगवानका मूर्ति सिमेन्टका हुन् । मागअनुसार तयार गर्ने उनीसँग १५ सय दुई हजारदेखि २० हजारसम्मका मूर्तिहरु छन् । खजुरा बजार छेउमै रहेर मूर्ति बनाउँदै आएकी अहिरले आफ्नो घर खर्च यसैबाट चलाउँछिन् ।
उनले बनाएका मूर्ति बाँके जिल्लासहित दैलेखसम्म पुग्ने गरेको छ । दुर्गा, शिव, नाग, कृष्ण, गणेश, शिव लिंगलगायतका भगवानका मूर्तिहरु बनाउँछिन् । मूर्ति बनाउने कलाले नै उनको घर चलेकाले खजुराका अधिकांशले उनीबाटै मूर्ति बनाउँछन् । धेरैलाई थाह नभएर पनि माग जुनरुपमा आउनुपर्ने हो त्यो नआएको मूर्ति कलाकार ननकैयाले बताइन् ।
उनले मूर्ति कला बनाउन तालिमसमेत लिएकी छैनिन् । ‘मनैदेखि बनाउन मन लागेपछि सुरु गरेकी हुँ, बिस्तारै यही पेसा बन्यो,’ उनले भनिन् । ‘भगवानका मूर्तिहरु बनाउन थालेपछि मैले अरु कुरा बिर्सन्छँु ।
मैले बनाएका धेरै मूर्तिहरु प्रसिद्ध मन्दिरमा स्थापना गरिएका छन् । मैले आफ्नो मिहेनतको मात्र पारिश्रमिक माग्ने गरेकी छुँ, त्यसैले मेरो साझबिहानको छाक टार्ने गरेको छ,’ उनले भनिन् ।










प्रतिक्रिया दिनुहोस्