खुद्रा व्यवसायबाटै स्वरोजगार



नेपाली समाजमा अधिकांश ग्रामीण क्षेत्रका महिला चुलोचौकोमा सीमित हुन्छन् । तर गाउँगाउँमा सचेतनाका कार्यक्रम लागु हुनुका साथै समूहमा आबद्ध हुन थालेपछि उनीहरुको आफ्नो अधिकारका लागि समेत बोल्न सक्ने भएका हुन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बैजनाथ गाउँपालिका–३ की जुना विक खुद्रा व्यवसाय गर्छिन् । आफ्नै घर अगाडि उनले व्यवसाय थालेको चार वर्ष भयो । खुद्रा व्यवसाय उनको परिवारको प्रमुख आर्यस्रोत हो । उनले चारजनाको परिवार यही व्यवसायमार्फत पाल्दै आएकी छन् । चार वर्ष पहिले १० रुपैयाँ लागतमा व्यवसाय सुरु गरेको उनले बताइन् ।

अहिलेसम्म खुद्रा व्यवसायमै एक लाखसम्म लगानी लगाइसकेको उनले बताइन् । उनी व्यवसायसँगै गाउँमा रहेको समूहमा समेत आबद्ध छिन् । वडा नम्बर ३ को वनखेत बस्ती दलित समुदायको बाहुल्य भएको बस्ती हो । त्यहाँ ३० घरधुरी छन् । उक्त गाउँमा दलित महिला संघ बाँकेले प्रगतिशिल दलित महिला समूह गठन गरेको छ । उक्त समूहकी सदस्यसमेत हुन्, जुना ।

उनको व्यवसाय र क्षमता विकासको लागि संघले सहयोग गर्दै आएको छ । उनले दलित महिला संघका कारण आफ्नो परिवारमा खुसी थपिएको जानकारी दिइन् । उनका अनुसार पहिला मजदुरी गर्दै आए पनि अहिले भने श्रीमान् श्रीमती नै व्यवसायमा आबद्ध छन् । उनका श्रीमान् कुमार अटो चलाउँदै आएका छन् । चारजनाको परिवार व्यवसायमार्फत चलाउँदै आएको उनको भनाइ छ । उनी सदस्य रहेको समूहमा २९ जना सदस्य छन् । उनीहरुले मासिकरुपमा पैसा बचत गर्छन ।

आफ्नो अधिकार तथा जीविकोपार्जनका लागि छलफल गर्दछन् । संघले पनि समूहमा आबद्ध महिलाहरुको शसक्तिकरणका लागि क्षमता विकास तालिमका साथै विभिन्न सहायता प्रदान गर्दै आएको छ ।

उनको व्यवसायको लागि पनि उक्त संस्थाले सहयोग गर्दै आएको छ । व्यवसायका समूहमा आबद्ध हुनसमेत संस्थाले प्रेरित गरेको उनले जानकारी दिइन् । अहिले उक्त व्यवसायमार्फत दैनिक न्यूनतम् एक हजार कमाइ हुने गरेको जुनाको भनाइ छ । महिलामा सामान खरिदलगायत कटाएर २० देखि २५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ । ‘चार वर्ष अघिसम्म चुलोचौकोमा सीमित थिएँ ।

अहिले निर्धक्क बोल्न सक्ने भएकी छुँ । आर्थिकरुपमा समेत शसक्त बनिरहेको छँु,’ उनले भनिन् । दलित समुदायका महिला मात्रै सम्मिलित उक्त समूहका अन्य महिलासमेत विभिन्न साना व्यवसायमा आबद्ध भएका छन् । उक्त व्यवसायमार्फत वनखेतका दलित समुदायमा जागरणसँगै आर्थिक उर्पाजनको माध्यमसमेत बढ्दै गएको छ । यही समूहमा आबद्ध महिलाहरु गाउँपालिकास्तरीय दलित सञ्जालमा समेत आबद्ध भएर काम गरिरहेको उनले जानकारी दिइन् ।

वडा नम्बर ३ की दलित महिला वडा सदस्यसमेत प्रगतिशिल दलित महिला समूहकी सदस्य हुन् । उनले समेत महिलाहरुको अधिकारका लागि वडा तथा पालिकास्तरमा आवाज उठाउँदै आएकी छन् । जुनाका श्रीमान् कुमारसमेत श्रीमतीको आत्मविश्वास देखेर दंग छन् । उनले छोराछोरीहरुको भविष्यको लागि दुवैजनाले संघर्ष गरिरहेको बताए ।

दलित महिला संघ बाँकेद्वारा जिल्लाका तीन स्थानीय तहमा दलित तथा सीमान्तकृत समुदायका महिलाहरुको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रम नामक परियोजा सञ्चालित छ । विशेषगरि दलित समुदायका महिलाहरुको क्षमता विकास, आर्थिक शसक्तिकरण तथा जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सञ्चालित परियोजना खजुरा, डुडुवा र बैजनाथ गाउँपालिकामा चालु छ ।

बाँकेका विभिन्न स्थानीय तहका दलित समुदायका महिला स्वरोजगार बन्दै गएका छन् । स्थानीय तह तथा विभिन्न संघ संस्थासँग आबद्ध भएसँगै उनी स्वरोजगार बन्दै गएका हुन् । पहिला आफ्नो परिचयसमेत दिन डराउने उनीहरु अहिले समूह डाक्नेदेखि आर्थिक उपार्जन गर्न सक्ने अवस्थामा पुगेका छन् । नेपाली समाजमा अधिकांश ग्रामीण क्षेत्रका महिला चुलोचौकोमा सीमित हुन्छन् ।

तर गाउँगाउँमा सचेतनाका कार्यक्रम लागु हुनुका साथै समूहमा आबद्ध हुन थालेपछि उनीहरुको आफ्नो अधिकारका लागि समेत बोल्न सक्ने भएका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार