कोहलपुर ।
संविधान दिवसको अवसर पारेर बाँकेको नेपालगन्ज कारागारबाट १८ जना कैदी रिहा भएका छन् । दिवसको अवसरमा बाँकी कैद छुट पाउँनेहरुमा विभिन्न मुद्दाका १८ जना पुरुषहरु रहेको नेपालगन्ज कारागार प्रशासनले जनाएको छ ।
बाँकी कैद छुट पाएर रिहा हुनेहरुमा डाँका चोरी मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ५ जना, नकवजनी चोरी मुद्दाका ५ जना र ज्यान मार्ने उद्योग मुद्दाका १ जना रहेका छन् ।
यस्तै डाँका चोरी मुद्दाका एक जना, बहुविवाह मुद्दाका ३ जना, सवारी अंगभंग मुद्दाका १ जना र कर्तव्य ज्यान मुद्दाका १ जनाले बाँकी कैद छुट पाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
नेपालगन्ज कारागारबाट १८ जना रिहा भएसँगै ४३३ कैदी र ३५४ जना थुनुवा गरेर अब ७८७ जना कारागारमा रहेका छन् । रिहा हुनेहरुलाई कारागारका कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरुले टीका लगाइदिएर बिदाइ गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा देशभरका कारागारमा रहेका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी थिइन् ।
उनीहरु समेत आइतबार देशभरका विभिन्न कारागारबाट रिहा भएका थिए ।असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्