बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ‘मल्टीलिगामेन्ट’को सफल शल्यक्रिया गरिएको छ ।
अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का नेतृत्वको टीमले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको अस्पतालका मेसु डा. प्रकाश बहादुर थापाले जानकारी दिए ।
यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले भेरीमा आएर गर्ने गरेका थिए । भेरी अस्पतालका चिकित्सकले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल अपरेसन गरेका हुन् ।
उनको दुई महिनाअघि बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । करिव साढे २ घण्टा लगाएर एसील, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. खड्काले जानकारी दिए ।
‘घुँडामा दुई ठाउँ चोट लागेको सम्म यसअघि शल्यक्रिया भइरहेकै थिए’ उनले भने, ‘तीन ठाउँमा चोट लागेको शल्यक्रिया भएको भने यो पहिलो पटक हो ।’
अस्पतालमा थापाको शल्यक्रिया खर्च मात्र १० हजार भएको बताइएको छ । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ । विरामीको आर्थिक अवस्थालाई पनि ध्यानमा शुल्क छुट गरिएको मेसु थापाले बताए । विभिन्न औषधि तथा अन्य सामग्री गरी बिरामीको करिब १ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
मल्टीलिगामेन्टको शल्यक्रियामा डा. खड्का, डा. प्रकाश बहादुर थापा, डा. राहुल मिश्र र डा. लक्ष्मण सिग्देललगायतको टीम रहेको थियो । दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिएको भेरी अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्