शिवु खनाल । दाङ ।
दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइालबासका अमित सल्फीको परिवार पहिरोले विस्थापित हुने अवस्थामा पुगेको छ । वर्षाका कारण कोइलाबास खोलामा आएको पहिरो घरैसम्म आइपुगेपछि अमितको परिवार विस्थापित हुने अवस्थामा पुगेको हो । घरगोठ माथिबाट झरेको पहिरोका कारण घर क्षतिग्रस्त भएको उनले बताए । खोलाको गहिराई बढ्दै गएपछि उनीजस्तै कोइलाबास नाकामा रहेका दर्जनौ बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
तीन दिनदेखि भैरहेको वर्षाका कारण कोइलाबास नाकाका विभिन्न ठाउँका बस्तीहरु बाढी पहिरोको जोखिममा परेका हुन् । अमितले वर्षायाम सुरु भएपछि पहिरोको डरले रातभर जागै बस्ने गरेको बताए । यस्तै कोइलाबास निवासी नियामत उल्ला सिद्दिकीको परिवार पहिरोका कारण झोलुङ्गे पुलमा रात विताउन बाध्य छ । ‘कच्ची घर र त्यही माथि दुई तीनदेखि निरन्तर पानी परिरहेको छ । कोइलाबास खोलाको छेवैमा घर छ, कतीबेला पहिरोले घर लैजाने हो थाहा छैन । चार जनाको परिवार घर नजिकै रहेको झोलुङ्गे पुलमा रात कटाइरहेका छौं’ उनले भने । लगातार वर्षातका कारण कोइलाबास नाकामा दुईवटा घर पहिरोले लगेको छ ।
भाडा कुँडा, लुगालत्ता, खाद्यान्न लगायतका केही घरायसी सामानहरु निकाली सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुङगेलले जानकारी दिए । उनका अनुसार पहिरोले दुईवटा घरमा क्षती पु¥याउदा ६ लाख बराबरको नोक्सानी भएको छ । वर्षाले डुबानको जोखिम बढाएपछि उद्धार कार्यमा तयारी अवस्थामा आफुहरु रहेको उनले बताए ।
उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सशस्त्र प्रहरीले सारेको छ । यस्तै लगातार परेको वर्षाका कारण दाङ देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । राप्ती नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरु लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबान भएतापनि मानवीय क्षति भने भएको छैन । निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्