युवकको हत्या प्रयास गर्ने तीन पक्राउ



कोहलपुर ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका, २० नयाँ बस्ती थपुवामा युवकको हत्या प्रयास गर्ने थप तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले घटनाका मुख्य नाइकेसहित तीन जनालाई सुर्खेतबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार गुण्डा नाइके नेपालगञ्ज, २० का २५ वर्षीय सन्ते भनिने बसन्त रावत, सोही ठाउँका प्रकाश बुढा र २५ वर्षीय चक्र बहादुर रावत रहेका छन् ।

उनीहरुले गत साउन २४ गते राती नयाँ बस्ती थपुवाका पुरन विक र टेक बहादुर विकलाई धारिलो हतियारले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए । ‘दुवै जनालाई मध्यराती सुतिरहेको अवस्थामा घरभित्रबाट लतार्दै बाहिर निकाली शरिरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए’ उनले भने, ‘धारिलो हतियारले आक्रमण गरेपछि पुरनलाई मरासन्न अवस्थामा झाडिमा फालेर भागेको अनुसन्धानबाट खुलेको छ ।’ प्रहरीका अनुसार पुरनलाई विभिन्न घरेलु हातहतियारले गुण्डा नाइके सन्तेको समूहले शरिरका विभिन्न भागमा आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

मरासन्न अवस्थामा झाडिमा भेटिएका उनीलाई परिवारका सदस्य तथा स्थानीय उद्दार गरेर उपचारका लागि अस्पताल पठाएका थिए । घटनालगत्तै कोहलपुर प्रहरीले अन्य चार जना युवालाई पक्राउ गरेको थियो । मुख्य सन्तेसहित अन्य तीन जनालाई भने सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए । ‘अरु जस्तो सामान्य ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको यो घटना होइन’ उनले भने, ‘यो घटना गम्भीर रहेको छ ।

त्यसैले हामिले धेरै दुख गरेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएका हौं ।’ पक्राउ परेका ७ जनामाथि अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गम्भीर घाइते पुरनको काठमाडौंमा उपचारपछि अहिले नेपालगञ्ज मेडिकल कलेज कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १० गते बिहीबार