कोहलपुर, नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाँकेले राप्तीसोनारी गाउँपालिकामा भइरहेको अवैध उत्खनन् रोक्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बाँकेले जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदी लगायत विभिन्न खोलाहरुमा ढुंगा गिट्टी र बालुवाको उत्खनन् गर्ने अनुमति पाएका कम्पनीहरुले सम्झौता भन्दा कैयौ गुढा बढी परिणाममा उत्खनन् गरिएको जनाएको हो ।
त्यहाँ क्रसर उद्योगीहरुले राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएको पनि उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला सेक्रेटरी अनिल र इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’द्धारा हस्तारित विज्ञप्तिमा सत्ता र शक्तिको बलमा खोला किनार वरीपरी जम्मा गरी राखिएको ढुंगा, गिट्टी र बालुवालाई अभिलम्भ जनताको सम्पति घोषणा गर्न राप्तीसोनारी गाउँपालिकालाई माग गरिएको हो ।
लामो समयदेखि उक्त क्षेत्रमा क्रसर उद्योगको नाममा वर्षौदेखि राज्यको सम्पति दोहन भइरहेको भन्दै पार्टीले जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समितिको कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेलाई पनि ध्यानाकर्षण गरिएको छ । प्रेस विज्ञप्ति मार्फत उक्त समस्या साउन महिनाभित्र यो कार्य पुरा नगरिएमा पार्टीले थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका दिपकले राज्यको सम्पति माथि मनपरी गर्नेहरुको विरुद्ध आफ्नो पार्टी शसक्त रुपमा अघि बढ्ने बताए । उक्त पार्टीले गत फागुन महिनामा प्रतिबन्ध फुकुवा भएपछि पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय भएको छ ।राज्यसँग भएका सम्झौता कार्यान्वयनका अहिले पनि बहस भइरहेको भन्दै स्थानीय स्तरमा हुने विकृति विरुद्ध पनि पार्टीले काम गरिरहेको उनले बताएका छन् ।
‘राज्यको सम्पति माथि लुटपाट गर्न पाइदैन भन्ने हाम्रो पार्टीको स्पष्ट लाइन हो । सोही अनुसार हामीले लामो समयदेखि राज्य र स्थानीय सरकारसँग खबरदारी गरिरहेका छौ । अझै पनि सम्पतिमाथिकाके दोहन रोकिएन भने हामी शसक्त प्रतिवाद गर्छौँ ।’ उनले भने । यस्तै उक्त पे्रस विज्ञप्तिमा गम्भीर राजनैतिक अस्थिरता र चरम बेथितिले देश र जनतालाई आक्रान्त बनाइरहेको पनि उल्लेख छ । देश विकास र जनताको हितको लागि सम्पूर्णलाई आवश्यक पहलकदमी आवश्यक रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्