चीनले दाबी गर्ने दक्षिण चीन सागरमा भारतले पनि चार युद्धपोत पठाउने भएको छ।
भारतको रक्षा मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार भारतका युद्धपोत दुई महिना दक्षिण चीन सागरमा तैनाथ हुनेछन्। सो क्रममा क्वाडमा आवद्ध अमेरिका, जापान र अस्ट्रेलियाका नौसेनासँग भारतीय सेनाले त्यहाँ युद्ध अभ्यास गर्नेछन्।
अबको केही दिनमै आफ्ना युद्धपोतहरु दक्षिण चीन सागरमा जाने भारतको भनाइ छ। यद्यपी कहिले जाने भनेर मिती उल्लेख गरिएको छैन।
भारतको टास्क फोर्समा मिसाइल डिस्ट्रोयर जहाज, गाइडेड मिसाइल फ्रिगेट जहाज, एन्टी–सबमरिन कोरभेटी र गाइडेड–मिसाइल कोरभेटी समावेश हुनेछन्।
भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय युद्धपोतहरु चीनले दाबी गर्ने जलक्षेत्रमा जान लागेका हुन्।
क्वाडमा आवद्ध नौसेनासँगै भारतका नौसेनाले दक्षिण चीन सागरका अन्य दाबीकर्ता मूलुक सिंगापुर, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सका सेनासँग पनि सहकार्य गर्ने सीएनएनले जनाएको छ।
भारतले एक बयानमा भनेको छ, ‘यी समुद्री पहलहरुले भारतीय नौसेना र मित्र राष्ट्रहरु बीच साझा समुद्री चासो र समुद्री स्वतन्त्रता तथा प्रतिबद्धताको आधारमा तालमेल र समन्वय बढाउँनेछ।’
दक्षिण चीन सागर पछिल्ला दिनहरुमा चर्को बहसको विषय बनेको छ। गतहप्ता बेलायती विमानवाहक सैन्य जहाज यो सागरमा प्रवेश गरेको थियो। सोही समयमा अमेरिका र चिनियाँ सेनाले त्यहाँ युद्ध अभ्यास गरेका थिए।
चीनले दक्षिण चीन सागरको ९० प्रतिशतभन्दा बढी जलक्षेत्रमा आफ्नो अधिकार भएको दाबी गर्दछ। जसका कारण उसले त्यहाँ भारतको युद्धपोत साथै कसैको जहाजहरुलाई स्वागत गर्नेछैन।
तर यहाँ पुरा समूह नै चीनविरुद्ध लागि परेका छन्। क्वाडमा आवद्ध अमेरिका, अस्ट्रेलिया, जापान र भारतले एकसाथ युद्ध अभ्यास गर्दैछन्।
यो समूहले चीनको दाबीलाई अस्वीकार गर्दछ र चीनको आक्रामकताविरुद्ध एक हुने वाचा गरेका छन्। चीनले यस जलक्षेत्रमा कुनै देशको जहाज देख्न चाहँदैन र कसैको उपस्थिती बढेमा उसले आफ्नो सार्वभौमिकतामाथिको प्रहारको रुपमा लिने गर्दछ।
ती देशहरुले भने अन्तर्राष्ट्रिय अदालतको फैसलाले चीनको दाबी अस्वीकार गरेका कारण यो अन्तर्राष्ट्रिय जलक्षेत्रमा चीनको आक्रामकता नसहने बताउँदै आएका छन्। सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको थियो।
चीन बाहेक यो सागरलाई सिंगापुर, फिलिपिन्स, इन्डोनेसिया, मलेसियाले पनि आफ्नो भएको दाबी गर्दछन्। उनीहरुले पनि चीनको दाबी अस्वीकार गर्दै आएका छन्।
क्वाड समूहका नौसेनाहरु दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्ने तय भएसँगै सोमबार नै पहिलोपटक जर्मनीका युद्धक जहाजहरु पनि यो सागरमा जाँदैछन्। सीएनएन










प्रतिक्रिया दिनुहोस्