दलित युवामाथि जातीय विभेद गर्ने वडा अध्यक्षका छोरा पक्राउ,वडाअध्यक्ष अझै फरार



जुम्ला  : दलित युवामाथि जातीय विभेद गर्ने जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कालीबहादुर बुढाका छोरा पक्राउ परेका छन् ।

सोही गाउँ कै विवेन्द्र नेपाली माथि वडा कार्यालय मै जातीय विभेद गरेको  आरोपमा वडा अध्यक्ष बुढाका छोरा नविन बुढा पक्राउ परेका हुन् । यसअघि पीडित विवेन्द्र नेपालीले असार २५ गते जाहेरी दिएका थिए ।

त्यतिबेला प्रहरीले सुरुवाती चरणमा जाहेरी दर्ता गर्न मानेको थिएन । पछि जिल्लाका दलित अधिकारकर्मी तथा युवाहरुको दबाबमा वडा अध्यक्ष बुढा सहित उनका छोरा विरुद्ध जाहेरी दर्ता भएको थियो । दुवै जना विरुद्ध जाहेरी दर्ता गरेको करिब १ महिनापछि वडा अध्यक्षका छोरा नविन पक्राउ परेका हुन् ।

वडा अध्यक्ष अझै फरार छन् । पीडक नविन बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ । कार्यालयमा कार्यरत युवन कुमार चौधरीले जातीय विभेद गरेको आरोपमा वडा अध्यक्षका छोरा नविन पक्राउ परेको बताए । केस अनुसन्धानको क्रममा रहेको भन्दै उनले मिसन टुडे दैनिकलाई थप बताउन चाहेनन् ।

यता पीडित विवेन्द्र नेपालीले लामो समयको प्रयास पछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको भन्दै खुसी व्यक्त गरे । अहिले सिंजास्थित आफ्नै घरमा रहेका नेपाली अझै पनि वडा अध्यक्षलाई पक्राउ गर्नुपर्ने बताए । उनले आफू गाउँमा गएपछि वडा अध्यक्ष भागेको समेत बताएका छन् । वडा अध्यक्षलाई प्रहरीले निरन्तर खोजी कार्य जारी राखेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार