पाटेबाघको संख्या बढ्दो



कोहलपुर 

बाघ संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दो क्रममा रहेको छ । नेपालको कान्छो निकुञ्जको रुपमा समेत परिचित बाँके राष्ट्रिय निकुञ्जमा वर्षेनि पाटेबाघको संख्या बढ्दो क्रममा रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते निकुञ्ज स्थापना गरेको थियो ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्दा जम्मा चार वटा मात्रै बाघ थिए । तर स्थापनाको एक दशकमा निकुञ्जमा पाटेबाघको संख्या २ दर्जन बढी पुगेको छ । सन २०१८ मा गरिएको सर्वेक्षणमा बाँके राष्ट्रिय निकुञ्जमा २१ पाटबाघ रहेको पाइएको थियो ।

तर पछिल्लो चार वर्षमा बाघको संख्याम पनि बढेको छ ।अहिले बाँके राष्ट्रिय निकुञ्जमा कुल २५ वटा पाटेबाघ रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन् ।

उनका अनुसार विश्वमै लोपउन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाती संरक्षणमा ध्यान दिएका कारण वर्षेनि बाघको संख्या बढ्दै गएको छ । निकुञ्जमा रहेका पाटेबाघ संरक्षणका लागि सक्रिय रुपमा काम भइरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । बाघको संरक्षण हाम्रो मुख्य उद्देश्य हो ।’,सोही अनुसार हामीले बाघ संरक्षणलाई मुख्य प्राथमिकताका साथमा लिएका छौँ । वर्षेनी यहाँ बाघको संख्या बढ्दै पनि गइरहेको छ ।’

अहिले निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेका अनुसार बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ अहिले आफ्नै प्राकृतिक बासस्थानमा रमाइरहेको छ । आहारा प्रजाती बढेपछि बाघ आफ्नै बासस्थानमा बस्न रुचाउँने समेत बताए । बाघको आहारा बढाउने काम निकुञ्जले गरिरहेको न्यौपानेको भनाइ छ । त्यसकारण निकुञ्जमा बाघको संख्या पनि बढिरहेको उनको दाबी छ ।

निकुञ्जमा पाटेबाघको संख्या बढे पनि संरक्षणमा समेत चुनौती थपिएको निकुञ्जले जनाएको छ । बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई हुनु, चोरी शिकार नियन्त्रण नहुनु, मानव र बाघबीच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पुर्वाधार निर्माण गरिनु संरक्षणका चुनौती रहेको निकुञ्जले जनाएको छ ।

बाँके निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् २०१८ गरिएको गणना अनुसार नेपालमा पाटेबाघको संख्या २ सय ३५ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ पाईन्छ । सन् २०१८ मा गरिएको गणना अनुसार पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटामा १६ रहेको छ। निकुञ्ज विभागले सन् २०२२ सम्म बाघको संख्या बढाएर २ सय ५० पु¥याउने लक्ष्य राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार