सम्पादकीय : पुल मर्मतमा ध्यान



नेपालमा भनेका अधिकांश विकास निर्माणका संरचना कमसल र अपूर्ण हुने अब कुनै नौलो कुरो भएन । गत आर्थिक वर्षमा मात्रै नेपालका विभिन्न स्थानमा बनेका आधा दर्जन बढी पुलहरु निर्माणकै क्रममा भत्किएका समाचारहरु बाहिर आए । यस्ता निर्माणाधिन कतिपय पुलहरु प्राविधिक कारण तथा अधिकांश निर्माण कम्पनीले कमसल सामाग्रीहरु प्रयोग गर्दा भत्किएका हुन् । बन्दै गरेका पुलहरु हुन वा सडक हुन्, बीचैमा यस्ता संरचना भत्किदा विरोधका स्वरहरु नसुनिने पक्कै पनि होइनन् । तर केही समय विरोधका स्वरहरु सुनिने गरिएपनि खास्सै सरकारी तवरबाट ध्यान दिएको पाइदैन ।

यस्तै जोखिममा परेको एउटा संरचना हो, बर्दिया र कैलाली जोड्दै कर्णाली नदिमातिको सत्तिघाट पुल । निर्माण सम्पन्न भएको ६ वर्ष नपुग्दै कर्णाली नदीमा आएको बाढीका कारण जोखिममा परिसकेको छ । कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुलको २ वटा स्पान भाँसिएको छ । २ वटा स्पान भाँसिएपछि सत्तीघाटपुल बाङ्गो छ । पुलको १३ वटा स्पान मध्ये पूर्व तर्फको २ वटा स्पान भाँसिएको हो । पुलको पूर्व तर्फको २ वटा स्पानको बीचमा रहेको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भाँसिएको बताइन्छ । हुलाकी राजमार्गको कैलाली र बर्दिया खण्डलाई जोड्ने यो पुल जोखिममा परेसँगै फेरी स्थानीयहरु वारीपारी गर्न लामो बाटो प्रयोग गर्नुपर्ने हुन्छ । सत्तिघाट पुल २०७२ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । करिव ६ वर्षसम्म अरुको जोखिम टाँरेको यो पुल अहिले भने आफै नै जोखिममा छ । ५ सय ३१ मिटर लामो यो पुलमा १३ वटा स्पान रहेका छन् ।

१३ वटा स्पानले पुल कमजोर हुने भन्दै स्थानियले एउटा स्पान थप गरेर १४ स्पानको पुल बनाउनु पर्ने माग गर्दै आएको थिए । तर उक्त समयमा निर्माण कम्पनीले १३ वटा मात्र स्पान राखेर पुल बनायो । सोही कारणले अहिले स्थानीयहरु यस्तो समस्या आएको बताउँछन् । पुल भाँसिएर जोखिममा परेसँगै केही सातायता आवतजावतमा आंशिक रोक लगाइएको छ । साना दुई पाङ्रग्रे सवारी साधन संचालन गर्न दिइए पनि ठूला सवारीसाधनलाई भने एक पटकमा एउटा साधान मात्र पुलमा चल्न दिने गरिन्छ । यसअघि बर्दियामा २०७४ सालको बाढीका कारण सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा निर्माण गरिएको जब्दीघाट पक्की भाँसिएको थियो । यो पुल अहिलेसम्म पनि पुर्ननिर्माण हुन सकेको छैन । कतै अहिले भाँसिएको सत्तिघाट पुल समेत समयमा नै मर्मत नहुने हो की भन्ने आशंका जगाइदिएको छ । अब तत्कालै सम्बन्धित निकायले पुलको मर्मत थालेर थप क्षती हुनबाट जोगाउनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहीबार