‘अतिक्रमित सडकपेटी खाली गर्नु’



शिवु खनाल । दाङ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत लमहीमा कानुन विपरित सडकपेटीमा पसल संचालन गर्ने व्यापारीहरुलाई सडकपेटी खाली गर्न निर्देशन दिइएको छ । बजार क्षेत्रका मुख्य चोकदेखि सुनखोलीसम्म दायाँ र बायाँ रहेको सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, होटल एवम् लज अगाडिका सडकपेटीमा पार्किङ् गर्ने विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने
कार्य गरेका स्थानीय व्यापारीहरुलाई सडकपेटी खाली गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले
जानकारी दिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही र लमही नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेका स्थानीय व्यापारीहरुलाई शुक्रबारसम्मसडकपेटी खाली गर्न निर्देशन दिइएको थियो ।

अनुगमनको क्रममा लमहीको राजमार्ग क्षेत्रमा प्रायः विभिन्न क्षेत्रमा सडकपेटी अतिक्रमण गरि विभिन्न पसल संचालन गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत माधव तिमल्सिनाले बताए । जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले बजारको स्वरुप कुरुप बन्दै गएको छ । लमही नगरपालिका बजार क्षेत्रका सडकपेटी अतिक्रम गरी स्थानीयहरूले व्यवसायी संचालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् । ‘बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रमण गरेको पाइयो’ अधिकृत तिमिल्सनाले भने,
‘पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रमण भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।’

राजमार्ग क्षेत्रका सडकपेटी अतिक्रम गरेर राखिएको बस्तु तिनदिन भित्र नहटाए तत्कालै कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अमरराज शर्माले बताए । ‘माइकिङ भन्दा अतिक्रमण गरेर व्यापार संचालन गरेका विभिन्न पसलका संचालकलाई भेटेरै शुक्रबारसम्म हटाउन निर्देशन दिएका छाँै । निर्देशनको पालना नगरे तत्कालै कार्वाहीको प्रकृया अगाडि बढाइनेछ’ उनले भने, ‘तीन दिन भित्र मानेनन् भने सम्पूर्ण सडकपेटी र नाला भन्दा बाहिरका सम्पूर्ण सामान प्रशासनले उठाउने र कार्वाहीको प्रक्रिया अगाडि बढाइने छ ।’

व्यक्तिगत फाईदाको लागि बजारको स्वरूप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रमण गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएपछि जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा टोलीले मंगलवार स्थलगत निरिक्षण एवम् अनुगमन गर्दै अतिक्रमित सडकपेटी खाली गर्ने निर्देशन दिएको हो । यता अनुगमनको क्रममा दिएको निर्देशनको पालना नगरे शनिबारको दिन सम्पूर्ण सामान जफत गर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १३ गते बुधबार