सुदीप अधिकारी । बर्दिया ।
बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदिमा हालै निर्माण सम्पन्न भएको सत्तिघाट पुल भाँसिएको छ । कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुलको २ वटा स्पान भाँसिएको हो । २ वटा स्पान भाँसिएपछि सत्तीघाटपुल बाङ्गो भएको छ । पुलको १३ वटा स्पान मध्ये पूर्व तर्फको २ वटा स्पान भाँसिएको छ । पुलको पूर्व तर्फको २ वटा स्पानको बीचमा रहेको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भाँसिएको हुलाकी राजमार्ग आयोजना कार्यालय बाँकेका प्रमुख गागल भण्डारीले बताए ।
पुल भाँसिएपछि हुलाकी सडक अन्तर्गत पर्ने सत्तिघाट पुलमा प्राविधिक टोलीले पुलमा आएको समस्याका बारेमा प्रारम्भिक अनुसन्धान गरिरहेको छ । यो पुल २०७२ सालमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको करिव ६ वर्ष नपुग्दै पुल भाँसिएको छ । सत्तीघाट पुल ४५ करोडको लागतमा निर्माण भएको हो । यो रसुवा जेभी कन्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । निर्माणको क्रममै पुलको लम्बाई कम भएका भन्दै स्थानियले विरोध गर्दै आएका थिए । ५ सय ३१ मिटर लामो यो पुलमा १३ वटा स्पान रहेका छन् ।
१३ वटा स्पानले पुल कामजोर हुने भन्दै स्थानियले एउटा स्पान थप गरेर १४ स्पानको पुल बनाउनु पर्ने माग गर्दै आएको थिए । तर निर्माण कम्पनीले १३ वठा स्पान राखेर पुल बनाएकोले यस्तो समस्या आएको स्थानियको आरोप छ । पूर्व तर्फको २ वटा स्पान भाँसिएर पुल बाङ्गो भएको छ । अहिले पुलमा आवतजावतमा आंशिक रोक लगाइएको छ । साना दुई पाङ्रग्रे सवारी साधान संचालन गर्न दिइए पनि ठूला सवारीसाधनलाई भने एक पटकमा एउटा साधान मात्र पुलमा चल्न दिइएको छ । कर्णाली सत्तीघाटमा यतीखेर पानीको बहाव निकै बढी छ । पानीको बहाव बढ्दै गएमा कुनै वनि बेला पुल पूर्णरुपले भाँसिने खतरा रहेको छ ।
दुई साता अघि बाढीका कारण नदीले पूर्व तर्फको पहिलो स्पानसँग जोडिएको तटवन्धमा क्षती पुर्याएपछि केही दिनका लागि पुलबाट आवागमनमा रोक लगाइएको थियो । तटवन्ध मर्मत भए पछि केही दिन यातायात सुचारु गरिएको थियो । अहिले पुल नै भाँसिएपछि स्थानियबासी चिन्तित बनेका छन् । पूर्व पश्चिम हुलाकी राजमार्गमा रहेको यो बर्दिया र कैलाली जिल्ला जोड्ने महत्वपूर्ण पुल मानिन्छ । पछिल्लो समय पूर्वपश्चिम राजमार्गअन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने कर्णाली–चिसापानी–भरिगाउँ र सैनवार– रम्मापुर सडकखण्डमा बाघको जोखिम बढेसँगै साना सवारीवहाकहरु पूर्व पश्चिम हुलाकी राजमार्गबाट यात्रा गर्दै आएका थिए ।
हुलाकी सडकको पुलमा पनि समस्या देखिएपछि यात्रुहरु समस्यामा परेका छन् । पुल भाँसिएर सवारी आवतजावतमै समस्या देखिएपछि स्थानीय चिन्तित बनेका छन् । पुल निर्माण सम्पन्न भएको ६ बर्षमै पुल भाँसिएपछि निर्माण ब्यवसायी रसुवा जेभिले मापदण्ड अनुसार काम नगरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण व्यवसायीको चरम लापरवाहीले पुलमा समस्या आएको स्थानिय रमेश दहितले बताए । पुल पूर्णरुपले भाँसिने अवस्था रहेकोले तत्काल सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने उनले बताए ।
पुलमा समस्या देखिए लगत्तै हुलाकी राजमार्ग आयोजना कार्यालयमा जानकारी गराइएको प्रशासनको भनाई छ । पुल निर्माणका क्रममा थप एउटा स्पर नथप्दा यस्तो अवस्था आएको राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले बताए । उनले भने, ‘पुल निर्माणकै क्रममा हामीले पुलको १३ वटा स्परसँगै पूर्वतर्फ एउटा स्पर थप गर्नु माग गरेका थियौं । तर निर्माण कम्पनीले बेवास्ता गर्यो । जसका कारण निर्माण भएको ६ वर्ष नबित्दै पुल भाँसियो । यसमा निर्माण कम्पनी र आयोजनाकै दोष देखिन्छ ।’ हुलाकी राजमार्ग आयोजना कार्यालय बाँकेले पुल भाँसिएको सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय बाँकेका प्रमुख गागल भण्डारीले भने, ‘पुलको पहिलो र दोस्रो स्पान्सको बिचको भाग स्पान्सन जोइन्ट करिव १० सेन्टिमिटर भासिएको देखिएको छ । बाढीका कारण अहिले तल नदीमा गएर हेर्ने अवस्था छैन । ’ उनले भने, ‘के कती कारण यस्तो समस्या आएको हो अहिले तत्कालै भन्ने अवस्था छैन । समस्या पत्ता लगाउनका लागि विभागमा जानकारी गराएको छु । विभागबाट टोली आएपछि यसको समस्या पत्ता लगाइने छ ।’









प्रतिक्रिया दिनुहोस्