जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानालाई प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको छ ।
प्रहरीले नेपालगञ्जमा पक्राउ गरेका एक काठ तस्कर हतकडीसहित भागेपछि एसपी राना लगायतका अन्य प्रहरीमाथि छानविन थालिएको हो ।
घटनालाई गम्भीर रुपमा लिदै प्रहरी प्रधान कार्यालय मातहत रहेको उजुरी छानविन शाखाले दुई साताअघिबाट छानविन सुरु गरेको छ ।
बाँकेका तत्कालिन एसपी रानासहित एक असई, एक प्रहरी हवल्दार र एक सिपाहीलाई छानविनको लागि प्रहरी प्रधान कार्यालयमा तानिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले उनीमाथि लागेको आरोपको बारेमा सोधपुछ भइरहेको छ ।
यस्तो थियो घटना
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको मोबाइल गाडीमा रहेका प्रहरीले गत बैशाख तेस्रो साता बाँकेको हिरमिनियाबाट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिए ।
अवैध ५ थान सालको काठसहित हिरमिनियाकै निसार खाँलाई मोबाइल गाडीमा रहेका प्रहरीले पक्राउ गरेका थिए । हिरमिनियामा काठ तस्कर खाँ पक्राउ परेको खबर केहीबेरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानासम्म पुग्छ ।
उनले तत्काल सादा पोशाकका एक प्रहरीलाई हिरमिनिया पठाउँछन् । त्यहाँ पुगेर उनले पक्राउ परेका खाँको पहिल्यै एसपी सापसँग सेटिङ भईसकेकोले काठ र खाँलाई छोड्न मोवाईल गाडीमा रहेका असईलाई अनुरोध गर्छन् ।
यो पनि पढ्नुहोस्
बाँकेमा एसपीका घुमुवा र प्रहरीको झगडाले हतकडीसहित भागे तस्कर
मोबाइल गाडीमा रहेका असइले जवानको आदेश नमान्ने र आफूभन्दा उपल्लो तहबाट आदेश आउनुपर्ने बताएपछि एसपी खटाएका प्रहरी जवान र मोबाइल गाडीमा रहेका प्रहरीबीच केहीबेर विवाद हुन्छ ।
एसपी रानाले तस्कर छुटाउन खटाएका प्रहरी र मोबाइल गाडीमा रहेका प्रहरीको विवाद भइरहेको मौका छोपेर पक्राउ परेका खाँ हतकडीसहित फरार हुन्छन् ।
प्रहरीको नियन्त्रणमा रहेका तस्कर हतकडीसहित भागेपछि प्रहरीको सातोपुत्लो गयो । फरार रहेका खाँलाई खोज्न जिल्ला प्रहरी कार्यालय बाँकेले आफू मातहतका सबै निकायलाई रातभर हिरमिनियामा परिचालन ग¥यो तर खाँ कतै भेटिएनन् ।
हतकडीसहित फरार भएका खाँ अहिले सीमा पारी भारतीय भूमिमा रहेका छन् । हतकडीसहित खाँ भारततिर पसेपछि यता बाँके प्रहरीमा हल्लीखल्ली हुन्छ ।
हतकडी फिर्ता ल्याउनको लागि तस्करसँग वार्ताको लागि सादा पोशाकका एक असईको नेतृत्वमा एसपी रानाले वार्ता टोली गठन गरे । उता भने भारतबाटै खाँले फोन गरि काठ तस्करीको सेटिङका लागि लगेको १ लाख ५० हजार, प्रहरीले बरामद गरेको मोटरसाईकल र प्रयोग गर्ने गरेको मोबाइल फोन फिर्ता गर्नुपर्ने माग राखे ।
आफूले राखेका माग पूरा भएपछि मात्रै हतकडी फिर्ता गर्ने शर्त अघिसारेपछि प्रहरी उनका हरेक शर्त मान्न तयार भयो । शर्त अनुसार बाँके प्रहरीले काठ तस्करीको सेटिङका लागि बुझेको १ लाख ५० हजार नगद रकम र उनीबाट बरामद भएका सबै सामान उनको घरमा बुझाएपछि मात्रै भोलीपल्ट बेलुका ४ बजे मात्रै खाँले हतकडी फिर्ता पठाए ।










प्रतिक्रिया दिनुहोस्