मनसुन थप सक्रिय हुने, देशभर सर्तकता अपनाउन आग्रह



कोहलपुर ।

आज सोमबारदेखि देशभर मनसुन थप सक्रिय भइ सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले आजदेखि मनसुन थप सक्रिय भइ देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘रातिसम्म न्यून चापीय रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकाले मनसुन सक्रिय भइ बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो’ मौसमविद् पौडेलले भने ।

आइतबार जल तथा मौसम विज्ञान विभागले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको बताएको थियो । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतबार देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो । विभागका अनुसार आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको थियो ।

बाँके लगायत आसपासका जिल्लामा आइतबार हल्का बर्षा भएको थियो । जल–मौसम कार्यालय कोहलपुरले अझै केही दिन बर्षाको सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ । भारी बर्षा भएपछि बाँके भएर बग्ने राती नदी आसपासका गाउँ तथा स्थानीय खोलाहरुमा आउने बाढीले विभिन्न गाउँहरु जोखिममा पर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार