शुभाकर विश्वकर्मा, कोहलपुर
इलाका प्रशासन कार्यालय कोहलपुर स्थापना कालदेखि भाडामा सञ्चालन भइरहेको छ । स्थापना भएको पाँच वर्ष बितिसक्दा समेत कार्यालयको आफ्नै भवन नभएकोले नगर विकास समितिको स्वामित्वमा रहेको पुरानो भवनमा भाडा तिरेर सेवा दिइरहेको छ । संघीय सरकार गृह मन्त्रालय मातहत र जिल्ला जिल्ला प्रशासन कार्यालयको इकाईको रुपमा रहेको कोहलपुर इलाका प्रशासन कार्यालय भने ५ वर्षदेखि स्थायित्वको खोजीमा छ ।
२०७३ सालबाट औपचारिक रुपमा सेवा दिन थालेको कार्यालयको स्थापनाको ५ वर्षसम्म पनि कार्यालयको स्थायी संरचना छैन । स्थापना कालदेखि इलाका प्रशासन कार्यालय नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अस्थायी संरचनामा भाडा तिरेर सेवा प्रवाह गर्दै आएको छ ।
यस कार्यालयका तीन स्थानीय तहका २६ वटा वडामा कार्यक्षेत्र रहेका छन् । इलाका प्रशासन कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिकाको वडा न ८ बाहेक सबै वडा,राप्तीसोनारी गाउँपालिकाको वडा न १,२,८,९ , र कोहलपुर नगरपालिकाको १५ वटै वडा गरी २६ वटा वडामा सेवा प्रवाह गरिररहेको छ ।
अहिले कार्यालयमा एक कार्यालय प्रमुख, २ नायब सुब्बा, कार्यालय सहयोगी २ जना, कम्प्युटर अपरेटर, सह लेखापाल र हल्का सवारी चालकको दरबन्दि रहेको छ । अहिले ती मध्ये २ जना काजमा कार्यरत छन् । कम्प्युटर अपरेटर, २ जना कार्यालय सहयोगी र सवारी चालक करारमा सेवारत छन् ।
शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा इलाका प्रशासन कार्यालय कोहलपुर प्रमुख दिपेन्द्र रावलले आगामी कार्ययोजनाका रुपमा कार्यालय भवन निर्माणको लागि जग्गा प्राप्ति र भवन निर्माण रहेको प्रस्तुत गरे । सो अवसरमा उनले अहिलेपनि आफ्नै भवनको अभावमा व्यवस्थित सेवा प्रवाह तथा पुराना अभिलेखको संरक्षण गर्न समस्या भइरहेको बताए ।
२०७७ मंसिर ३ गते देखि प्रमुखको जिम्मेवारी सम्हालेका उनले आफूले इलाका प्रशासन कार्यालयको जग्गा प्राप्ति र भवन निर्माणको लागि पहल गरिरहेको बताएका थिए । इलाका प्रशासन कार्यालयलाई जनमैत्री कार्यालयका रुपमा सेवा प्रवाह गर्ने थलोको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो ।
‘अहिलेपनि सीमित स्रोत साधनका बीच नगर विकास समितिको जग्गा र भवनमा सेवा दिइरहेका छौँ । अहिले सम्म हाम्रो आफ्नै भौतिक संरचना र स्थायित्व छैन । कार्यालयको स्थायित्वको लागि प्रयास गरिरहेको छु ।’ भेटघाट कार्यक्रममा उनले भने । कोहलपुर नगरपालिकालाई कार्यालयको जग्गाको लागि नगर प्रमुखलाई दुईपटक अनुरोध समेत गरेको उनले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले गम्भीरता पुर्वक नलिएको आफूले महशुस गरेको पनि बताए । नगर विकास समितिलाई पनि पटकपटक आग्रह गरिएको उनको भनाइ छ ।
छलफलमा सहभागीहरुले इलाका प्रशासन कार्यालय कोहलपुरलाई गुणस्तरीय सेवा प्रवाह गर्ने थलो र स्थायी संरचना निर्माणमा जुट्नुपर्ने सहभागीहरुले जोड दिएका थिए । उक्त अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र बाँकेका नेता नरेन्द्र न्यौपानेले इलाका प्रशासन कार्यालयको भवन निर्माण र जग्गा प्राप्तिका लागि सरोकारवाला निकायलाई दबाब दिनुपर्छ ।
कार्यालयका लागि स्थायी संरचना आवश्यक रहेको भन्दै उनले छिट्टै कोहलपुर क्षेत्रका सरोकारवाहरुको संयुक्त बैठक आह्वान गर्न आग्रह गरे । यस्तै नेता न्यौपानेले कार्यालयले अहिले प्रवाह गरिरहेको सेवा छिटो छरितो रहेको भन्दै सार्वजनिक महत्वका विषयमा पनि अभिभावकत्व ग्रहण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
यता नगर विकास समिति कोहलपुरका अध्यक्ष समेत रहेका नगर प्रमुख लूटबहादुर रावत इलाका प्रशासन कार्यालय कोहलपुर अहिले पनि नगर विकास समितिको जग्गा र भवनमा सेवा दिइरहेको बताउँछन् । उनका अनुसार कार्यालयले स्थापना कालदेखि नै नगर विकासको जग्गामा तीन पालिकाका लाखौँ जनताहरुलाई सेवा दिइरहेको छ । इलाका प्रशासन अहिले पनि अर्काको सम्पतिमा काम चलाइरहेको छ, नगरपालिकाले पनि ध्यान नदिएको भन्ने गुनासो सुनिएको छ नी ? भन्ने प्रश्नमा रावत भन्छन्,‘हामीले बेवास्ता गरेको भन्ने होइन । नगर विकास समितिले जग्गा दिने भनेर निर्णय गरिसकेको छ । कार्यालयले रकम जुटायो भने समस्या देखिदैन ।’
नगर प्रमुख रावतले अहिले सेवा दिइरहेको जग्गा इलाका प्रशासन कार्यालय कोहलपुरलाई दिने भन्ने निर्णय भएको मिसन टुडे दैनिकलाई जानकारी दिए । यता इलाका प्रशासन कार्यालय कोहलपुरले मुख्य गरी नयाँ तथा प्रतिलिपि नागरिकताहरु जारी तथा वितरण गर्ने , राहदानी सिफारिस तथा वितरण लगायतका प्रशासनिक काम गरिरहेको बताइएको थियो । कार्यालय प्रमुख रावलले भवन निर्माण, डिटिजल बडापत्र, व्यवस्थित र छरितो सेवा र समन्वयात्मक कार्यक्षेत्र तथा कार्यवातावरण रहेको बताएका थिए । उक्त अवसरमा कोहलपुरमा क्रियाशिल सञ्चारकर्मीहरुको सअभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्