मधुर पौडेल । बर्दिया ।
विपी कोइराला र नेपाल कम्पुनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दुवै जनाको स्मृती दिवसको अवसर पारेर बर्दियाको बाँसगढी बजारमा वृक्षारोपण गरिएको हो । पुर्व पश्चिम राजमार्गको बाँसगढी बजार क्षेत्रमा पर्ने सडकको ग्रिन बेल्ट क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।
एक कार्यक्रमका बीच बिहीबार बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले सडकको बीच भागमा रहेको ग्रिन बेल्टमा वृक्षारोपण गर्ने कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले विपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृती दिवस सर्वपक्षीय रुपमा मनाइएको जानकारी दिए ।
‘दुवै जनाको स्मृती दिवस पारेर हामीले सर्वपक्षीय रुपमा नै यो कार्यक्रम गर्ने योजना बनाएका थियौं’ उनले भने, ‘यो कार्यक्रमले बाँसगढीको विकासको लागि सबैजना एकजुट रहेको सन्देश समेत दिएको छ ।’ बाँसगढी नगरपालिका र निजी क्षेत्रको सहकार्यमा बजार क्षेत्रमा रहेको रोडको बीच भागको ग्रिन बेल्टमा विभिन्न जातका ३ सय बढी बिरुवाहरु बिहीबार रोपिएको थियो ।
बजार क्षेत्रलाई वृक्षारोपण गरी स्वच्छ, सुन्दर, सफा तथा हरियाली बनाउनको लागि यो कार्यक्रमले सहयोग पु¥याउने नगर प्रमुख अधिकारीले बताए । ‘बाँसगढी नगर क्षेत्रलाई हरियाली बनाउने हाम्रो निती रहेको छ’ उनले भने, ‘यो कार्यक्रमले हाम्रो अभियानलाई केही भएपनि सघाउ पुग्छ ।’
वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । बिहीबार रोपिएका बिरुवाहरुको संरक्षण तथा गोडमेलको जिम्मा बाँसगढी नगरपालिकाले लिएको छ ।



























प्रतिक्रिया दिनुहोस्