कोहलपुर ।
इस्लाम धर्मावलम्बीहरुले आफ्नो दोस्रो ठूलो महान चाड बकर इद (ईद उल अजहा) बुधबार धुमधामका साथ मनाएका छन् । रमजान पर्वको ७० औँ दिन मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरुको रमजानपछिको दोस्रो ठूलो पर्व हो । बकर इदको अवसरमा नेपाल सरकारले बुधबार सार्वजनिक बिदा समेत दिएको थियो ।
कोरोना कहरकै बीच मुस्लिम समुदायहरुले धुमधामका साथ बकर इद मनाएका हुन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले यसपटक विगतका वर्षहरुमा जस्तो मस्जिदमा नमाज (प्रार्थना) गर्नेहरुको भिड लागेको थिएन । गत वर्ष झैँ यो वर्ष पनि कोरोना संक्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायतका निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका थिए ।
नेपालगञ्जका मुस्लिम अगुवा अब्दुल वाहिद मन्सुरीले कोरोनाको जोखिम कायमै रहेकोले अधिकांशले बकर इदको नमाज घरमा नै पढेको बताए । विगतका वर्षहरुमा मस्जिदमा हजारौंको संख्यामा एकैसाथ नमाज पढ्ने प्रचलन रहेको थियो । मस्जिद पढिसकेपछि मस्जिद बाहिर जम्मा भएका अन्य धर्मका मानिसहरुसँग समेत गला मिलाएर इदको शुभकामना आदानप्रदान गर्ने गरिथ्यो ।
‘अहिलेको परिस्थितीलाई बुझेर अधिकांशहरुले नमाज घरमा नै पढ्नुभयो’ उनले भने, ‘मस्जिदमा केही मानिसहरुले सामूहिक नमाज पढेका थियौं ।’ उनीहरुले मास्क लगाएर र भौतिक दूरीको पालना गर्दै नमाज (प्रार्थना) गरेका हुन् । यस पर्वमा आर्थिकरुपमा सम्पन्नहरुले दान गर्नुपर्ने अल्लाहको आदेश भएको मुस्लिम अगुवाहरु बताउँछन् ।
पर्वमा अल्लाहलाई खुशी बनाउन इस्लाम धर्मावलम्वीहरुले पशुबली चढाउने र दान दिने गर्दछन् । पशुबली दिनु र बाँडेर खानु, आफूले सकेको दान दिनु मानव धर्मको लागि केहि न केहि गर्नु यो पर्वको विशेषता रहेको छ । ईद उल अजहा पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यो वर्ष कोरोनाका कारण हजयात्रीलाई मक्का मदिना जान रोक लगाएको थियो ।









प्रतिक्रिया दिनुहोस्