नेपालका कतिपय विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’को उपमा दिइन्छ । स्थानीय तहको निर्वाचनअघि बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनामले चिनिन्थ्यो । कारण लामो समयसम्म राप्ती नदीमा सडक पुल बन्न सकेको थिएन ।
हरेक वर्षायाममा यस क्षेत्रको बाँकी जिल्लासँगको सम्बन्ध टुट्थ्यो । चार वर्षअघिसम्म नरैनापुर गाउँपालिकासम्म पुग्ने बाटो थिएन । यातायातका साधन नचल्दा नेपालगन्जसँगै जोडिएको पालिकासम्म पुग्न मान्छेलाई सास्ती खेप्नुपर्थ्यो ।
राप्ती नदीको कटान र बर्सेनि बाढीले हिँडडुलमा समस्या थियो । जिल्ला सदरमुकाम, नेपालगन्जबाट यी सबै साविकका गाविसहरुलाई जोड्दै हुलाकी सडकमार्ग बघौडा भन्ने अन्तिम विन्दुसम्म पुग्छ, जुन भारतको सीमा नाका नजिकै पर्छ ।
यसैले यस क्षेत्रलाई बघौडा क्षेत्र भनेर पनि चिनिने गरिएको छ । स्थानीय तहको निर्वाचनअघि यस क्षेत्रलाई विकटता र पछौटेपनले गाँजेको थियो । जस्तो कि स्थानीयबासीले नेपाली भाषा नबुझ्ने, नेपाली पैसा नचल्ने, बर्षायाममा सदरमुकामसम्म आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने आदि । त्यतिबेला साँच्चै सापेक्षिकरुपमा सुगम मानिएको नेपालको तराई क्षेत्रमा नरैनापुर निकै बिकट पनि थियो ।

त्यतिबेला सडक पुलको अभावमा राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको यस हुलाकी सडकको अवस्था निकै जीर्ण थियो । सडक मार्गमा पर्ने विभिन्न नालामा पुल, कल्भर्ट नहुँदा त्यसलाई पार गर्न घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो । हुलाकी सडक बनेपछि नेरैनापुर क्षेत्रमा चहलपहल बढ्दै गयो । अहिले आन्तरिक पर्यटकहरु नरैनापुरमा घुम्नलायक गन्तव्य खोज्दै आउन थालेका छन् ।
कोरोना कहरको थकान र तराईको चर्को गर्मी छल्न यतिबेला नरैनापुरस्थित सन्तानेश्वर मन्दिरमा पनि चहलपहल बढेको छ । गाउँपालिकाले पर्यटकीय स्थललाई महत्त्व दिन थालेपछि यहाँ पर्यटक बढ्न थालेका हुन् । गाउँपालिकाले आगन्तुक पर्यटकलाई शनिबार यहाँ स्वागत गरेको छ । पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नरैनापुर–२०२१’ सञ्चालन नीतिसमेत ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
यसै नीतिअनुरूप पहिलो चरणको कार्यक्रममा सन्तानेश्वर महादेव मन्दिरसम्म पैदल यात्रा सुरु गरिएको हो । नेपालगन्जदेखि लालपुरसम्म २५ किलोमिटर पक्की सडक छ । त्यहाँबाट ८ किलोमिटर पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ ।
नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो । गत शनिबारमात्रै ५ हजार भन्दा बढी पैदल यात्रुले मन्दिरको दर्शन गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्