मेडिकल कलेजमा स्वास्थ्यकर्मीको प्रदर्शन



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा तलव भत्ताको माग राख्दै स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रदर्शन गरेका छन् । केही दिनयता तलव भत्ताको माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले शनिवार अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । शुक्रवार नै अस्पतालको प्रशासन, लेखा शाखा र एमडी कक्षमा तालाबन्दी गरेका उनीहरुले अस्पतालमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

आन्दोलनरत उनीहरुले अस्पतालले तीन महिनादेखि नदिएको तलव र कोभिड भत्ता पाउनुपर्ने माग राखेका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरुले भने चार महिनादेखि नै तलव भत्ता नपाएको स्वास्थ्य पेजले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । लर्ड बुद्ध एजुकेशन ऐकेडेमी कर्मचारी संगठनकी उपाध्यक्ष सुमन गिरीले आफुहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइन् ।

‘नर्सिङ स्टाफ र कर्मचारीहरुले कोभिड भत्ता तथा खाजा भत्ता पनि पाएका छैनन्’ उनले भनिन्, ‘सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट थप २० प्रतिशत थप गर्नुपर्नेमा १६ महिनादेखि कोषमा दाखिला भएको छैन ।’ आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले भने सेवा प्रवाहमा कुनै प्रभाव नपारेको दाबी गरेका छन् ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको एकमुष्ट तलवभत्ता पाउनु पर्ने माग रहेको छ । यता नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज प्रशासनले भने साउन पहिलो सातासम्म तलव भत्ता दिने बताइरहेको छ ।

अस्पतालका उप–निर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलब भत्ता दिन नसकिने बताए । ‘तलब भत्ता नदिने भनेका छैनौं ।’ स्वास्थ्य पेजसँग उनले भनेका छन्, ‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नुपर्छ । लोनको प्रोसेसमा छौं । साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार