नेपालगञ्ज ।
बाँकेमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु तलब भत्ता माग्दै आन्दोलनमा उत्रिएका छन् । मासिक तलब, कोभिड भत्ता पाउनु पर्ने माग राखेर उनीहरु शुक्रवार प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तीन महिनादेखि तलब भत्ता नपाएको बताएका छन् । आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् ।
माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् । अस्पतालले भने एकमुष्ट तलब र भत्ता दिने अवस्था नरहेको जनाएको छ ।
अस्पतालका उप–निर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलब भत्ता दिन नसकिने बताए । ‘तलब भत्ता नदिने भनेका छैनौं ।’ उनले भने, ‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नुपर्छ । लोनको प्रोसेसमा छौं । साउन पहिलो सातासम्म एक महिनाको तलब पाउनुहुन्छ ।’ अहिले अस्पताल ५० करोड घाटामा रहेको अस्पतालका उप–निर्देशक शर्माले दाबी समेत गरे ।









प्रतिक्रिया दिनुहोस्