कोहलपुर
मंगलबार पाँचौपटक देशको प्रधानमन्त्री बनेको शेरबहादुर देउवाको मन्त्रीपरिषद्मा बाँकेलाई समेत समेट्नुपर्ने माग उठेको छ । सर्वोच्च अदालतको परमादेशबाट केपी शर्मा ओलीलाई विस्तापन गरेर पाँचौँ पटक देउवा प्रधानमन्त्री बनेसँगै बाँकेले पनि मन्त्री पाउनुपर्ने माग उठेको हो ।
बाँकेका जनताले बाँकेमा दुई जना संघीय सांसद मोहम्मद इस्तियाक राई र महेश्वर गहतराजलाई मन्त्री बनाउन माग गरिरहेका छन् ।
पूर्व सहरी विकास मन्त्री समेत भइसकेका जसपाका नेता राईलाई मन्त्री बनाउनुपर्ने एकथरीको माग छ, भने अर्कोथरी नागरिकले जनयुद्धदेखि हालसम्म गणतन्त्र र जनताका अधिकारका लागि संघर्षरत महेश्वर गहतराजलाई मन्त्री बनाइनुपर्ने माग जर्बरजस्त उठेको हो । राई बाँके क्षेत्र नम्बर २ बाट संसदमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य हुन् ।
राई केपी शर्मा ओली नेतृत्वको मन्त्रीभण्डलमा तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट २०७५ जेष्ठ १८ गते मन्त्री बनेका थिए । उनको उपेन्द्र यादव नेतृत्वको दलले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनले २०७६ पुस ८ गते मन्त्री पद्बाट राजिनामा दिएका थिए । पहिलो पटक संघीय संसद निर्वाचित भएका राई नेपालगन्जमा विकासबादी नेताका रुपमा परिचित छन् । अहिले पनि उनलाई मन्त्री बनाउनु पर्ने माग गरिएको हो ।
पत्रकार समेत रहेका नेपालगन्ज निवासी सिराज खान विकासवादी जनप्रतिनिधिको छवि बनाएका राई र गहतराज मध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने बताउँछन् । पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्धको मोर्चामा उनी सम्बद्ध उपेन्द्र यादव नेतृत्वको जसपा विपक्षी गठबन्धनको एक दल हो । देउवा प्रधानमन्त्री बनेसँगै जसपामा पनि सरकारले जाने निश्चित छ । तर कहिले सरकारमा जाने भन्ने विषयमा निर्णय भइसकेको छैन । जसपामा अहिले पार्टी फुटको चरणमा रहेकोले पनि तत्काल यादव पक्ष सरकारमा सहभागी नभएको हो ।
जसपा कै महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भएपछि विवाद चुलिएको थियो । उक्त पार्टीको आधिकारिता विवाद अहिले निर्वाचन आयोगमा विचाराधिन छ । आयोगले साउन तीन गते दलको विवाद समाधानको लागि समय सीमा दिएको छ । यस अघि राम्रो काम गरेकोले पनि राईलाई मन्त्री बनाउनुपर्ने बाँके बासीको माग छ । यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा सांसद महेश्वर गहतराज अथकलाई पनि मन्त्री बनाउनुपर्ने बाँकेबासीको माग रहेको छ ।
कोहलपुरका व्यवसायी विष्णु खनाल विकासप्रेमी तथा क्रान्तिकारी नेता अथक मन्त्री हुनुपर्ने बताउँछन् । उनका अनुसार बाँके जिल्लाको विकास तथा पिछडिएका वर्गहरुको समावेशी सहभागिताको लागि पनि उनलाई उनी सम्बद्ध पार्टीले यसपटक मन्त्री बनाउनुपर्छ । लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय अथक माओवादी केन्द्रका बाँकेको आसलाग्दा नेता हुन् ।
यता जिल्लामा उनलाई मन्त्री बनाउनुपर्ने माग भइरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरेका छन् । बिहीबारको भेटघाटको विषयमा मिसन टुडे दैनिकसँग कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य अथकले पार्टी अध्यक्षसँग समसमायिक राजनीति, सरकारलाई प्रभावकारी बनाउने र आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा छलफल भएको बताए ।
उनका अनुसार जिल्लामा आफूलाई पार्टीले मन्त्री बनाओस भन्ने कुरा जोडदारका साथ उठिरहेको थाहा पाएको भन्दै आफूले सकारात्मक रुपमा लिएको उनले बताए । उनका अनुसार जनताबाट आफ्नो प्रतिनिधि मन्त्री होस भन्ने चाहना स्वाभाविक छ । बाँकेबासीले माग गरेजस्तै अध्यक्षसँग तपाईं मन्त्री बन्ने विषयमा कुराकानी भएको हो ? भन्ने प्रश्नमा अथकले अध्यक्षसँग आगामी सम्भावनाका विषयमा खुलस्त कुराकानी भएको उत्तर दिए । उनी यस विषयमा धेरै खुल्न चाहेनन् ।
यता देउवाले पहिलोचोटी चार जना मन्त्री सहित मन्त्रीपरिषद् बनाएका छन् । पहिलो चरणमा माओबादी र काँग्रेसबाट दुई दुई मन्त्री भएका छन् । अब छिट्टै देउवाले आफ्नै पार्टीका थप मन्त्री सहित माओवादी, जसपा जनमोर्चा र सम्बत एमालेको माधव नेपाल पक्षलाई समेटेर मन्त्री परिषद् विस्तार गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्