शिवु खनाल । दाङ ।
भारतसँग जोडिएका दाङ राजपुर र गढवा गाउँपालिका अन्तरगत क्षेत्रमा पर्ने सीमाक्षेत्रको दक्षिणी चुरे भेगका मानिसहरू बाह्रैमास कष्टकर दैनिकी गुजार्न बाध्य भइरहेका छन् । छिमेकी राष्ट्र भारतसँग जोडिएको पूर्वको अर्नादेखि पश्चिम भौवानाका चुरे भागमासम्मका सीमाक्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीहरूले सडक, बिजुली बत्ती, खानेपानी लगायतको अभावमा कष्टकर दैनिकी गुजार्नु परेको हो ।
भारतसँग जोडिएको कोइलाबास नाका बाहेक अन्य यहाँका चुरे भेगका अधिकांश नाकाहरूमा सडक पुगेको छैन । खहरे खोलाको बगर र गोरेटो बाटो हुँदै भारतसँग जोडिएका अधिकांश नेपाली भु–भाग एवम् बस्तीहरूमा पुग्नुपर्ने बाध्यता रहेको छ ।
विकट बस्ती भएता पनि नाका सबै बस्ती गाउँपालिका भित्र पर्छन् । त्यस क्षेत्रमा विरामी हुदा औषधी उपचार गर्न वा दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतीय बजारको भरपर्नु बाध्यता रहेको छ । हिउँदको समयम मोटरसाइकल चले पनि वर्षायामको बेला बन्द हुने राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले बताए ।
हालसम्म सडक सञ्जालसँग नजोडिएका दाङका ३४ वटै नाकाक्षेत्रका बस्तीहरूमा हिउँदका महिना खहरले खोलाका बगर र ठाडो पहाडबाट मोटरसाईकल गुड्ने गरेको छ । भारतसँग जोडिएका दाङका अधिकांश सिमाक्षेत्रका बस्तीमा गाडि अझैसम्म पुगेका छैनन् । अति दुर्गम र विकटताका कारण सिमाक्षेत्रमा भरपर्दो स्वास्थ्य सेवासमेत पुग्न सकेको छैनन् ।
पूर्वपश्चिम राजमार्गसग जोड्छुः सांसद चौधरी
प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले समग्र भारतसँग जोडिएको सीमा क्षेत्रमा विकास गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य चौधरीले सोमवार स्थानीय नाकाबासीसँग समग्र नाकाको विकासमा वृहत् छलफल गरेका थिए ।
उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने भारतसँग जोडिएको पूर्वको अर्ना नाकादेखि पश्चिमको भौवनाकाको विकासको लागि स्थानीय नाकाबासीसँग छलफल गरेका हुन् । स्थानीय नाकाबासीले नाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, यातायात, विद्युत् लगायतको समस्याबारे छलफलमा प्रतिनिधिसभा सदस्य चौधरीलाई ध्यानाकर्षण गराएका थिए ।
‘पहिलेको तुलनामा नाकामा अहिले राज्यको उपस्थिति राम्रो छ । चहलपहल पनि बढेसंगै, राजधानीबासी पनि भएकोमा खुसि लागेको छ’ स्थानीय टंक विकले भने, ‘अब नाकाको विकासमा अलि बढि चासो दिनुप¥यो ।’
यता प्रतिनिधिसभा सदस्य चौधरीले भारतसँग जोडिएको दाङको सीमाक्षेत्रको विकास बारे दिर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका थिए । ‘विकास गर्छु तर, विकास गर्न वृहत् गुरूयोजना बनाउन आवश्यक छ’ उनले भने, ‘सिमा क्षेत्रमा बसोबास गर्दै आउनु भएका स्थानीयलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने केन्द्रीय सरकारसँग छलफल गरिरहेको छु ।’









प्रतिक्रिया दिनुहोस्